न्यु योर्क। ब्रुकलिनको बुशविक क्षेत्रमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) को छापापछि तनाव चर्किएको छ। स्थानीय मिडिया रिपोर्टअनुसार आईस एजेन्टहरू एक व्यक्तिलाई गिरफ्तार गर्न पुगेपछि छिमेकीहरू बाहिर निस्किएका थिए। त्यसपछि सडकमा झडपजस्तो अवस्था बनेको थियो। उनीहरू मध्य केहीलाई पेपर स्प्रे हानिएको र केहीलाई हथकडि लगाइएको बताइएको छ।
एमन्यूयोर्कका अनुसार यो घटना मंगलबार (फेब्रुअरी २४) साँझ करिब ६ बजे बुशविक एभिन्यु र सुड्याम स्ट्रिटनजिक बताइएको छ। रिपोर्टले एक व्यक्तिलाई गिरफ्तार गर्न खोज्दा स्थानीय बासिन्दाले रोक्ने प्रयास गरेको उल्लेख गरेको छ।
स्थानीय बासिन्दाले एकअर्कालाई खबर गरेपछि धेरै मानिस सडकमा जम्मा भएको रिपोर्ट छ। त्यसपछि फेडरल एजेन्ट र बासिन्दाबीच धकेलाधकेल भएको बताइएको छ। एमन्यूयोर्कले यसलाई हालका महिनामध्यमै न्यु योर्कको सडकमा देखिएको सबैभन्दा नाटकीय आईस अपरेशनमध्ये एक भनेको छ।
घटनापछि स्थानीय नेताहरूले कडा प्रतिक्रिया दिएका छन्। ब्रुकलिन बरो प्रेसिडेन्ट एन्टोनियो रेनोसो ले एक्स मा पोस्ट गर्दै ब्रुकलिनलाई “ट्रम्प-प्रायोजित आतङ्क” का लागि खेलमैदान बनाउन नहुने बताएका छन्। उनले बुशविकका बासिन्दाले “आइस इज नट वेलकम हियर” भन्ने सन्देश स्पष्ट पारेको पनि बताएका छन्।
ब्रुकलिन काउन्सिल मेम्बर जेन गुटिएरेजले पनि स्थानीय बासिन्दा आफ्ना छिमेकीका पक्षमा उभिएको भन्दै प्रशंसा गरेकी छन्। न्युज १२ ब्रुकलिनका अनुसार उनले गिरफ्तार गरिएका मानिसको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएकी छन्।
यसैबीच, ब्रुकलिनकै फोर्ट ग्रीनमा पनि त्यही दिन अर्को फेडरल इमिग्रेसन अपरेशनका कारण भीड जम्मा भएको खबर छ। त्याहाँ भीडले सडक अवरुद्ध गरेपछि एनवाइपिडीले एक जनालाई हिरासतमा लिएको थियो। गिरफ्तार गरिएका व्यक्तिको पहिचान, हिरासतको कानुनी आधार, र फेडरल अपरेशनको पूर्ण विवरण खुलाइएको छैन।





प्रतिक्रिया