२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

जेसिका गोन्जालेज—रोहासद्वारा जोह्रानलाई समर्थन, समर्थन गर्ने राजनीतिज्ञको संख्या २३ पुग्यो

जेसिका गोन्जालेज—रोहासद्वारा जोह्रानलाई समर्थन, समर्थन गर्ने राजनीतिज्ञको संख्या २३ पुग्यो

न्यु योर्क। डिस्ट्रिक्ट ३४ प्रतिनीधित्व गर्ने स्टेट एसेम्ब्ली मेम्बर जेसिका गोन्जालेज—रोहासले न्यु योर्क सिटीको मेयर पदको प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) मा जोह्रान मम्डानीलाई समर्थन गरेकी छन्।

गोन्जालेज रोहासले मङ्गलबार क्वीन्सको एल्महस्र्टमा एक कार्यक्रम आयोजना गरी मम्डानीलाई औपचारिक रुपमा समर्थन गरेकी हुन्। ‘जोह्रान आफ्नो विचार र मान्यतामा प्रष्ट छन्,’ कार्यक्रममा उनले भनिन्, ‘मेरा लागि जोह्रान र्‍याङ्क च्वाइस भोटिङको सूचीमा सबैभन्दा माथि छन्।’  
 
जोह्रान मम्डानीले न्यु योर्क सिटी बस निःशुल्क बनाउने, घर भाडा वृद्धि रोक्ने, महंगी नियन्त्रण गर्न सिटीबाट ग्रोसरी पसल सञ्चालन गर्ने, दुई लाख भाडा नियन्त्रिण आवास बनाउने, समुदायको सुरक्षाका लागि डिपार्टमेन्ट अफ पब्लिक सेफटी खडा गर्ने, अर्बपति र ब्यापारिक घरानाहरुलाई करको दायरा बढाउने, सबैका लागि निःशुल्क चाइल्ड केयर प्रदान गर्ने, खराब खर्च नियन्त्रण गर्ने, खराब घरबेटीलाई कानूनी दायरामा ल्याउने लगायतका कार्यक्रम अघि सारेका छन्।

उनले पूर्व गभर्नर एन्ड्रयु कुमोलाई सिटी हलमा पाइला टेक्नबाट रोक्नु सबैभन्दा महत्वपूर्ण रहेको पनि बताइन्। प्राथमिक निर्वाचनमा मम्डानीको मुख्य रुपमा कुमोसँग प्रतिस्पर्धा हुँदैछ। यसअघि नेपाली मूलकी न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर सरहाना श्रेष्ठले पनि जोह्रानलाई समर्थन गर्दै कुमोलाई प्राथमिक निर्वाचनमा हराउन नेपाली समुदायलाई अपिल गरेकी थिइन्। 

गोन्जालेज—रोहाससँगै मम्डानीलाई मेयर पदको प्राथमिक निर्वाचनमा औपचारिक समर्थन गर्ने न्यु योर्क सिटी, स्टेट, र फेडेरल तहका राजनीतिज्ञको सङ्ख्या २३ पुगेको छ। यसअघि कंग्रेसवुमन नाइडिया भलास्केजले मम्डानीलाई समर्थन गरेकी थिइन्। उनीसहित सिटी, स्टेट र फेडेरल तहका प्रभावशाली राजनीतिज्ञको टोलीले प्राथमिक निर्वाचनमा पूर्व गभर्नर समेत रहेका एन्ड्रयु कुमोलाई मेयर पदको प्राथमिक निर्वाचनमा हराउन जोह्रानलाई समर्थन गरेका थिए। 

जोह्रान मम्डानी मेयर पदको निर्वाचनमा जनस्तरबाट सबैभन्दा बढी सहयोग सङ्कलन गर्ने उममेदवार हुन्। उनले १९ हजार सर्वसाधारण न्यु योर्कवासीबाट सहयोग सङ्कलन गरी ६७ लाख डलर ‘पब्लिक म्याचिङ फन्ड’ प्राप्त गरेका छन्। सर्वसाधारणबाट सहयोग सङ्कलन गर्ने ठूला उमेदवारको सूचीको चौथो नम्बरमा रहेका एन्ड्रयु कुमोले दुई हजार सात सय मानिसबाट प्राप्त रकमबाट ३२ लाख डलर ‘पब्लिक म्याचिङ फण्ड’ का लागि योग्य त भए, तर नियम मिचेर सहयोग उठाएको अभियोगमा उनीलाई क्याम्पेन फाइनान्स बोर्डले रकम रोक्का सहित १३ लाख अमेरिकी डलर जरिवाना गर्‍यो। निर्वाचनमा कुमोलाई सहयोग गर्ने चन्दादाताहरू मुख्यतः अर्बपतिहरू छन्। 

जोह्रान मम्डानीलाई प्राथमिक निर्वाचनमा समर्थन गर्नेमा वर्किङ फेमेलिज पार्टी र डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाले पनि समर्थन गरेको छ। त्यस्तै, न्यु योर्क सिटीको सबैभन्दा ठूलो ‘इम्प्लोइ युनियन’ डिस्ट्रिक्ट काउन्सिल ३७ सहित करिब तीन दर्जन पेशागत सङ्घसंस्था र आप्रवासी समुदायको पक्षमा काम गर्ने सङ्घसंस्थाले पनि समर्थन गरेका छन्। 

प्रतिक्रिया