२३ फागुन २०८२, शनिबार
Sat, Mar 7, 2026
SUBSCRIPTION

बर्ड फ्लु भेटिएपछि न्यूयोर्कका जीवित कुखुरा बजार बन्द

न्यूयोर्क राज्यका गभर्नर क्याथी होकुलले शुक्रबार न्यूयोर्क सिटी, वेष्टचेस्टर, नासाउ र सोफक काउन्टीहरुमा जीवित पन्छी बजार बन्द गर्न आदेश दिएका हुन् ।
बर्ड फ्लु भेटिएपछि न्यूयोर्कका जीवित कुखुरा बजार बन्द

 

न्यू योर्क । बर्ड फ्लूको प्रकोप पुष्टि भएपछि न्यूयोर्क सिटी र आसपासका काउन्टीहरुमा जीवित कुखुरा लगायतका पन्छी बजार बन्द भएको छ । न्यूयोर्क राज्यका गभर्नर क्याथी होकुलले शुक्रबार न्यूयोर्क सिटी, वेष्टचेस्टर, नासाउ र सोफक काउन्टीहरुमा जीवित पन्छी बजार बन्द गर्न आदेश दिएका हुन् । 

न्यू योर्क सिटीका ब्रङस्, क्वीन्स र ब्रुकलिनका सात वटा बजारहरुबाट संकलन गरिएको कुखुरा परिक्षण गर्दा बर्ड फ्लूको पुष्टि भएपछि गभर्नर क्याथी होकुलले जीवित पक्षी बजारहरू बन्द गर्न आदेश दिइएका हुन् । यो आदेशसंगै न्यू योर्क सिटी र त्यसका नजिकका काउन्टीहरूमा लगभग ८० वटा बजारहरूलाई असर पुर्याएको बताइएको छ। गभर्नर होचुलले प्रकोप फैलिन नदिन पूर्व सावधानीको रुपमा बजार बन्दको आदेश दिएको बताएका छन् । यसले बर्ड फ्लूको फैलावटलाई रोक्नमा मद्दत गर्नेछ, होकुलले भने ।

कुखुरा लगायतका पन्छीमा बर्ड फ्लु भेटिए पनि मानिसमा भने संक्रमण भइनसकेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएको स्थानीय टलिभिजनहरुले जनाएका छन् । वेष्ट चेस्टर काउन्टीको एक पोखरीमा केही हाँसहरु मरेको पाइएको र ती हाँसहरुमा समेत बर्ड फ्लु पुष्टि भएको एबीसी टिभिले समाचार प्रशारण गरेको छ । 

गभर्नर होकुलको आदेश अनुसार जुन बजारहरूमा बर्ड फ्लू पुष्टि भएको छ, ती स्टोरहरुले आफ्नो भण्डारमा भएका पन्छीलाई तत्काल नष्टगरी पाँच दिनसम्म सफाई तथा कीटाणुमुक्त गर्नुपर्नेछ ।  यस्तै बर्ड फ्लू नदेखिएका बजारहरूले तीन दिन भित्र आफ्नो सबै भण्डार बिक्री वा नष्ट गर्नुपर्नेछ। त्यसपछि सबै बजारलाई कम्तीमा पाँच दिनसम्म बन्द गरी सफाई र कीटाणुनाशक गर्नु पर्नेछ । 

यसरी कीटाणुमुक्त गरिएको बजारहरुमा कृषि विभागबाट निरीक्षण गरी निरीक्षण उतिर्ण भएका बजारले मात्र जीवित पन्छीको व्यापार पुनः शुरु गर्न सकिने छ। बर्ड फ्लू फैलिएसंगै मानिसको स्वास्थ्यको बारेमा समेत विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पन्छी बजारमा कार्यरत कामदारहरुलाई तत्काल स्वास्थ्य परीक्षणमा जान स्वास्थ्य विभागले आग्रह गरकोे छ । 

न्यू योर्कको जीवित पन्छी बजारहरूमा कुखुरा, हाँस, परेवा, खरायो, क्वेल लगायतका पन्छीहरुको मासु काटेर बेच्ने गर्दछन् । न्यू योर्क राज्यका स्वास्थ्य आयुक्त जेम्स म्याकडोनाल्डले शुक्रबार एक वक्तव्य जारी गरी बर्ड फ्लूले तत्काल सार्वजनिक स्वास्थ्यको लागि कुनै खतरा पैदा नगरेको जानकारी गराएका छन् । 

प्रतिक्रिया