न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पको मास डिपोर्टेसन योजनालाई सघाउने गोप्य सहमति गरी संघीय न्याय विभागबाट मेयर एरिक आडम्सले आफ्नो भ्रष्टचारको मुद्दा फिर्ता गराएको आरोप लगाउदै न्यूयोर्क सिटीका चार जना उपमेयरहरुले राजीनामा दिने तयारी गरेका छन् । अमेरिकाका स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मेयर आडम्सले आफ्ना प्रशासनका ती उच्च अधिकारीहरुलाई तत्काल रानीनामाको निर्णय नलिन आग्रह गरेपनि उनीहरुले भने कुनै पनि बेला राजीनामा दिने सोच मेयर समक्ष राखेको एनबिसी टिभिले जनाएको छ ।
म्यानहटनका हालै अवकास प्राप्त महान्यायबक्ताले समेत मेयर आडम्सले राष्ट्रपति ट्रम्पको मास डिपोर्टेसन योजनासँग सहकार्य गर्न सहमति गरेको बदलामा उनको आपराधिक अभियोग खारेज गराउने सम्झौता गरेका आरोप लगाएको न्यूयोर्क टाइम्सले जनाएको छ । स्रोतहरुका अनुसार मेयर आडम्सको अराजनीतिक सहमतिको विरोध गर्दै राजीनामाको तयारी गरेका चार उपमेयरहरुमा मेयर कार्यालयका प्रथम उपमेयर मारिया टोर्रेस–स्प्रिङ्गर, अपरेसन विभाग हेर्ने मीरा जोशी, स्वास्थ्य विभागका एनी विलियम्स–आइसम र पब्लिक सेफ्टी प्रमुख चान्सी पार्कर छन् । सबै उपमेयरहरू न्यू योर्क सिटी सरकारको महत्वपूर्ण विभागहरुको नेतृत्व गर्ने अधिकारीहरु रहेको बताइएको छ । यदि चारै जना अधिकारीमहरुले एकैपटक कार्यालय छाडेमा मेयर आडम्स तथा उनको प्रशासनलाई निकै ठूलो क्षेति पुग्न सक्ने अडकल गरिएको छ ।
संघीय न्याय विभागले मेयर आडम्सको भ्रष्टचार मुद्दा फिर्ता लिएपछि ट्रम्प प्रशासनसंग मिलोमतो हुनसक्ने भन्दै न्यू योर्क राज्यका गभर्नर क्याथी होकुलले मेयर आडम्सलाई पदबाट हटाउन सक्ने अडकलबाजी चलिरहेको बेला उपमेयरहरुले राजीनामा दिएमा मेयर आडम्स माथि थप नैतिक दवाव पर्ने निश्चित छ ।






प्रतिक्रिया