न्यू योर्क। किराँत राई समुदायको मौलिक सांस्कृतिक पर्व उभौली साकेला यही मे १६ मा क्विन्सस्थित कोरोना पार्कमा आयोजना हुने भएको छ। किराँत राई सोसाइटी अफ अमेरिका (केआरसए) न्यूयोर्क च्याप्टरले कार्यक्रम आयोजना गर्न लागेको हो।
केआरसए न्यू योर्क च्याप्टरले कार्यक्रम आयोजनाको पूर्ब तयारी सकिएको जनाएको छ। साथ, च्याप्टरले कार्यक्रमको प्रोमो भिडियो समेत सार्वजनिक गरेको छ।
साकेला पर्वलाई किराँत समुदायले प्रकृतिप्रतिको सम्मान, सामूहिक एकता र पुर्खाको परम्परासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन्। विशेष गरी उभौली पर्वलाई खेतीपाती सुरु हुने समय, उर्वरता, समृद्धि तथा प्रकृतिप्रति सम्मान व्यक्त गर्ने पर्वका रूपमा लिइन्छ।
आयोजकका अनुसार कार्यक्रममा साकेला सिली नृत्य, सांस्कृतिक प्रस्तुति, पारम्परिक भेषभूषा प्रदर्शन तथा सामुदायिक भेटघाट हुनेछ। कार्यक्रममा न्यूयोर्क तथा आसपासका राज्यहरूबाट पाँच सयभन्दा बढि नेपाली समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
विदेशी भूमिमा रहेर पनि भाषा, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्दै समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले हरेक वर्ष साकेला आयोजना गरिँदै आएको केआरसए ले जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन समुदायका विभिन्न स्वयंसेवक तथा आयोजक टोली सक्रिय रूपमा तयारीमा जुटेका छन्।





प्रतिक्रिया