न्यूयोर्क । एक महिनाअघि परेको हिउँसमेत पूर्ण रुपमा पग्लिन नपाउदै न्यूयोर्क लगायत अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फेरी भिषण हिमआँधी आउने भएको छ । आइतबार अपरान्हदेखि सोमबारसम्म आउने प्रक्षेपण गरिएको हिउआँधीले दुई फिटसम्म हिउजम्न सक्ने जनाइएको छ भने शक्तिशाली हावा र तटीय क्षेत्रमा बाढीको चेतावनी समेत दिइएको छ ।
राष्ट्रिय मौसम सेवाले जारी गरेको सूचनामा भीषण आँधीले न्यूयोर्कसिटीसहीत उत्तर–पूर्वी क्षेत्रमा बाक्लो हिउँ र शक्तिशाली हावासहित ठूलो प्रभाव पार्ने जनाएको छ । न्यूयोर्क सिटीमा दुई फिटसम्म हिउँ पर्न सक्ने अनुमान छ।
राष्ट्रिय मौसम सेवाले भनेअनुसार, यो आँधीले डेलावेयरदेखि दक्षिणी कनेक्टिकट सम्म भारी हिमपात, कडा हावा र भिषण आँधीको अवस्था ल्याउने अपेक्षा गरिएको छ। वेथर प्रेडिक्सन सेन्टरका मौसमविद् ब्रायन हर्लीले भने, तीव्र हावाले ब्लिजार्ड अवस्था ल्याउने मात्र होइन, “तटीय क्षेत्रमा मध्यमदेखि ठूलो बाढी र उच्च समुद्री छाल जस्ता समस्या पनि सिर्जना गर्न सक्ने छ।”, न्यूयोर्क टाइम्सले आफ्नो समाचारमा जनाइएको छ ।
उनले कनेक्टिकट, न्यु जर्सी, न्यूयोर्क, रोड आइल्याण्ड र पूर्वी म्यासाचुसेट्स मा व्यापक विद्युत् अवरोधको सम्भावना उच्च रहेको पनि बताए। आइतबार बिहानदेखि सोमबार दिउँसोसम्म करिब ३ करोड मानिस यो मौसमी प्रतिकुलताबाठ प्रभावित हुने जनाइएको छ । सबैभन्दा भारी हिमपात प्रतिघण्टा १ देखि २ इन्च, वा त्योभन्दा बढी हुने अपेक्षा गरिएको छ।
शहरका अधिकारीहरुले सडकयात्रा “खतरनाक, सम्भवतः असम्भव हुन सक्ने भन्दै चेतावनी दिएका छन्। सोमबार बिहान र साँझ सम्मका लागि आवागमन समय हुनुकासाथै ठूला शहरहरूमा अस्तव्यस्त हुने निश्चितजस्तै देखिँदै गएपछि, वाशिङ्टन डी.सी., फिलाडेल्फिया, न्यूयोर्क सिटी हुँदै बोस्टन सम्म ठूलो असर पर्ने अनुमान गरिएको छ।
प्रतिकुल मौसमका कारण शनिबार रातिसम्म अमेरिकाभर आइतबारका लागि १,५०० भन्दा बढी उडानहरू रद्द भएका छन् ।
राष्ट्रिय मौसम सेवाका अनुसार, न्यूयोर्क सिटीका लागि दशवर्ष यता पहिलोपटक यसप्रकारको हिमआँधी आउन लागेको हो । २०१६ मा न्यूयोर्क शहरमा २७.५ इन्च हिउँ परेको थियो । न्यूयोर्क सिटीमा पछिल्ला चार वर्षदेखि बाग्लो हिमपातको अनुभव गरेको छैन ।




प्रतिक्रिया