न्यूयोर्क । तीन दिनदेखि जारी “सरकार बन्द” मंगलबार अन्त्य भएको छ । प्रतिनिधि सभाले आंशिक रुपमा “सरकार बन्द” अन्त्य गर्ने विधेयक झिनो मतान्तरले पारित गरेपछि सरकार बन्द खुलेको हो । संसदले पारित गरे लगतै राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त विधेयकमा हस्ताक्षर गर्दै सेप्टेम्बरसम्म सरकारका ठूला निकायहरूका लागि बजेट सुनिश्चित गरेका छन् । तर संघीय खर्च सम्बन्धी वार्ता भने अझै समाप्त नभएको न्यू योर्क टाइम्सले जनाएको छ।
१९६ जना रिपब्लिकन र २१ जना डेमोक्रयाटको समर्थनमा अघि बढेको यो विधेयकले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका लागि भने आउने हप्ताको अन्त्य सम्म मात्र बजेट उपलब्ध गराएको समाचारमा जनाइएको छ। अर्को पटक बजेट अवरुद्ध हुन नदिन ट्रम्प र कंग्रेसले डेमोक्रयाटहरूसँग सम्झौता गर्न करिब १० दिनको मात्र समय छ। पछिल्लो अवस्था हेर्दा यो प्रक्रिया अत्यन्तै कठिन हुने लगभग निश्चित छ।
डेमोक्रयाटहरूले ट्रम्प प्रशासनको कडा आप्रवासन कारबाहीमा सीमाहरू लगाउन रिपब्लिकनमाथि दबाब सिर्जना गर्न फिनान्सियल क्लिफको रणनीति अपनाएका हुन् । मिनियापोलिसमा अमेरिकी नागरिकहरूको हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै डेमोक्रयाटहरूले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको बजेटलाई केही सुधारहरूसँग जोड्ने अडान राखेका छन्। ती सुधारहरूमा संघीय एजेन्टहरूले मास्क लगाउन नपाउने व्यवस्था, अनिवार्य रूपमा बडी क्यामेरा लगाउनुपर्ने नियम, तथा स्थानीय प्रहरी सरहकै बल प्रयोगसम्बन्धी नीतिहरू पालना गर्नुपर्ने प्रावधान समावेश छन् ।



प्रतिक्रिया