०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

सुम्निमा साँझ–१५ डिसेम्बर २४ मा, सत्यकला र रुक्सनाले स्टेज तताउने

सुम्निमा साँझ–१५ डिसेम्बर २४ मा, सत्यकला र रुक्सनाले स्टेज तताउने

न्यूयोर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यूयोर्क च्याप्टरले आफ्नो वार्षिक सांस्कृतिक कार्यक्रम ‘सुम्निमा साँझ–१५’ यही डिसेम्बर २४ (क्रिसमस इभ) मा आयोजना गर्ने भएको छ।

न्यूयोर्कमा बसोबास गर्ने किरात राई तथा व्यापक नेपाली समुदायमा लोकप्रिय बन्दै गएको सुम्निमा साँझको मुख्य आकर्षण किरात राई समुदायको मौलिक साकेला नृत्य, परम्परागत भेषभूषा, र नेपाली–किरात खानाको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
यस वर्षको कार्यक्रममा चर्चित गायिका सत्यकला राई तथा ‘द भ्वाइस किड्स नेपाल’ पहिलो सिजनकी फाइनलिस्ट बालगायिका रुक्सना लिम्बूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रमको अन्त्यतिर न्यूयोर्कका चर्चित म्व् राजाले साङ्गीतिक सेटमार्फत माहोल तताउनेछन्।
आयोजक संस्था केआरएसए न्यूयोर्क च्याप्टरका अध्यक्ष शम्भु राईका अनुसार कार्यक्रमलाई तीन भागमा विभाजन गरिएको छ। पहिलो खण्ड औपचारिक हुनेछ। त्यसपछि दोस्रो खण्डमा किरात राई समुदायले साकेला नृत्य प्रस्तुत गर्नेछन्। तेस्रो खण्ड मनोरञ्जनात्मक र सांगीतिक रहनेछ।
अध्यक्ष राईले कार्यक्रमको मूल उद्देश्य अमेरिकामा हुर्कंदै गरेका दोस्रो पुस्ताका किरात राई समुदायमा संस्कार र संस्कृति हस्तान्तरण गर्नु रहेको बताए। “अमेरिकामा रहेका दोस्रो पुस्तामा हाम्रो संस्कार र संस्कृति हस्तान्तरण गर्नु नै कार्यक्रमको मूल उद्देश्य हो। त्यसैले बालबालिकालाई बढी स्टेजमा उतार्ने लक्ष्य छ,” उनले भने। बालबालिकाको मनोबल बढाउने उद्देश्यले बाल कलाकार रुक्सनालाई पनि निम्त्याइएको उनको भनाइ छ। अध्यक्ष राईका अनुसार कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको छ।

केआरएसएले किरात राई समुदायको महान् चाड साकेला उँधौलीको अवसर पारेर सुम्निमा साँझ प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। कोभिड–१९ महामारीका कारण केही वर्ष भने कार्यक्रम हुन सकेको थिएन।
केआरएसए अमेरिकामा किरात राई भाषा, संस्कार, संस्कृति र भेषभूषा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो। संस्थाले वर्षभरि विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रम आयोजना गर्दै आएको छ, जसअन्तर्गत सुम्निमा साँझलाई प्रमुख प्लेटफर्मका रूपमा लिइन्छ।


साकेला वर्षमा दुई पटक मनाइने परम्परा छ- उँधौली र उँभौली। जाडो छल्न लेकतिरबाट बेँसी झर्दा मनाइने साकेलालाई उँधौली, र गर्मी सुरु भएपछि लेकतर्फ उक्लँदा मनाइने साकेलालाई उँभौली भनिन्छ। साकेला नृत्यले किरात राई समुदायको उत्पत्ति, श्रम, प्रकृति–पूजा र जीवनशैलीसँग जोडिएको कथा प्रस्तुत गर्ने विश्वास गरिन्छ।

 

 

 

प्रतिक्रिया