२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

‘नो किङ्ग्स्’ आन्दोलनले हल्लायो अमेरिका, ५० वटै राज्यमा ७० लाख प्रदर्शनकारी सडकमा

‘नो किङ्ग्स्’ आन्दोलनले हल्लायो अमेरिका, ५० वटै राज्यमा ७० लाख प्रदर्शनकारी सडकमा

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा नो किङ आन्दोलन भयो। आयोजकहरूले ५० वटा राज्यमा करिब ७० लाख मानिस सडकमा आएको दाबी गरेका छन्। यो आन्दोलन २०२० यताकै सबैभन्दा ठूलो र ब्यबस्थित सडक प्रदर्शन हो।

आन्दोलन राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाधिकारवाद विरुद्ध थियो। सडकमा ओर्लेका जनताले प्रष्ट सन्देश दिए: राष्ट्रपति ट्रम्प, तिमी राजा होइनौ। 

ऐतिहासिक सहभागिता

प्रदर्शनकारीहरू ५० राज्यका २६ सयभन्दा बढी सहरका सडकमा ओर्लेका थिए। आयोजकहरूको दाबी अनुसार न्यू योर्क सिटीमा मात्र १ लाख मानिस सडक ओर्लेका थिए। आन्दोलन संयमित र ब्यबस्थित थियो। सुरक्षाकर्मीसँग झडप हुने र पक्राउ पर्ने अवस्था आएन। न्यू योर्क सिटी मेयर एरिक आडम्सले शनिबार आयोजित कार्यक्रमहरू आन्दोलनकै कारण स्थगन गरेका थिए। स्थगन भएको कार्यक्रममा म्यानह्याटनको फाइनान्सियल डिस्ट्रिक्ट स्थित बोलिङ ग्रीनमा नेपालको झण्डा फहराउने कार्यक्रम समेत परेको थियो।

आयोजकहरूका अनुसार सान फ्रान्सिस्को करिब पाँच लाख मानिस सडकमा उत्रेका थिए। उनीहरूले समुन्द्र किनारमा 'नो किङ्स' लेखिएको विशाल मानव आकृति बनाएका थिए।सिकागोमा करिब एक लाख मानिस सम्मिलित दुई माइल लामो र्‍यालीमा निस्केको थियो। पोर्टल्यान्ड, ओरेगनमा करिब ४० हजार प्रदर्शनकारीहरू डाउनटाउनमा भेला भएका थिए। 

उत्साहपूर्ण तर संयमित आन्दोलन

'नो किङ्ग्स्' आन्दोलनलाई इन्डिभिजिबल, ५०५०१ मुभमेन्ट, एसीएलयू, मुभअन, अमेरिकन फेडेरेसन अफ टिचर्स, पब्लिक सिटिजन, प्लान्ड पेरन्टहुड, ह्युमन राइट्स क्याम्पेन, र लिग अफ कन्जरभेसन भोटर्स लगायत २०० भन्दा बढी संलग्नहरूले संयुक्त रूपमा आयोजना तथा सञ्चालन गरेका थिए।

सबै समूहले अहिंसात्मक प्रदर्शन र संयमित विरोधमा जोड दिएका थिए। सहभागीहरूलाई शान्तिपूर्ण विरोध र सुरक्षा सम्बन्धी तालिमसमेत दिइएको थियो।

अधिकांश प्रदर्शनहरू शान्तिपूर्ण र उत्सवमय रहे। प्रदर्शनकारीहरूले 'वी द पिपुल' लेखिएका विशाल ब्यानरहरू, राजा होइन जनता भन्ने सन्देश लिन रातो क्रस चिन्ह लगाइएका मुकुट लगायतका प्लेकार्ड बोकेका थिए।

सिनेटर बर्नी स्यान्डर्स, राफाएल वार्नक, न्यान्सी पेलोसी, र चक शुमर जस्ता राजनीतिक नेताहरूले विभिन्न शहरका र्‍याली मा सहभागी भई जनतालाई “लोकतन्त्र बचाउन एकजुट रहन” आग्रह गरेका थिए।

साना झडप र गिरफ्तारी

अधिकांश र्‍याली शान्तिपूर्ण भए पनि केही शहरहरूमा राततिर हल्का झडप भएको थियो। पोर्टल्यान्ड, ओरेगनमा आईस कार्यालय बाहिर संघीय सुरक्षाकर्मीहरूले टियर ग्यास र पेपर बल प्रयोग गरेका थिए। उनीहरुले ३ जना पक्राउका छन्।

प्रहरीले लस एन्जेलस मेट्रोपोलिटन डिटेन्सन सेन्टर नजिक “अनलफूल असेंब्ली” घोषणा गरे। उनीहरुले त्यहाँ भएको भेला कानूनसँगत नभएको भन्दै आन्दोलनकारी तीतरबितर पार्न कम घातक गोली समेत चलाए। तर, त्यहाँ कुनै गिरफ्तारी भएन भएन।

समग्रमा प्रहरीले आन्दोलनलाई “अत्यन्त शान्तिपूर्ण” भनेका छन्।

साना सहरहरूमा पनि आन्दोलनकारीहरुको उल्लेखनीय सहभागिता देखियो। म्यानिस्टि, मिशिगनमा मात्र करिब ९२५ जनाले र्‍याली निकाले। सामाजिक सञ्जालमा उनीहरुको नो किङ्स ह्यासट्याग विश्वभर घण्टौं ट्रेन्डिङ भयो।

यो २०२५ मा आयोजना गरिएको दोस्रो राष्ट्रिय स्तरका “नो किङ्स” प्रदर्शन थियो। पहिलो“नो किङ्स” र्‍याली जुनमा भएको थियो, जसमा करिब ५० लाख मानिसले सहभागिता जनाएका थिए। केही रिपब्लिकन नियन्त्रित राज्यहरूले आन्दोलन अघि नै नेशनल गार्ड तयारी अवस्थामा राखेका थिए। तर कुनै ठूलो हिंसात्मक घटना रिपोर्ट भएन।

राजनीतिक विश्लेषकहरूका अनुसार, “नो किङ्स” आन्दोलनले अमेरिकामा लोकतन्त्रको पक्षमा अझै पनि बलियो आवाज जिवित रहेको सन्देश दिएको छ। त्यो “जनताले राजा होइन, संविधान रोजेका छन्,” भन्ने हो।

 

 

 

प्रतिक्रिया