काठमाडौं । विवादित व्यापारी दीपक भट्टसंगको व्यवसायिक साझेदारीबारे चौतर्फी आलोचना बढेपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको र सम्पति विवरण लुकाएको बारेमा विवाद बढ्दै गएपछि बर्तमान सरकारको सबैभन्दा सक्रिय र आक्रमक मन्त्रीको विवादित बहिरगमन भएको हो ।
विवाद समाधानको लागि समिति गठन गरेर छानविनि गर्ने प्रयास भएपनि आलोचना बढ्दै गएपछि बुधबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर गुरुङले राजीनामा बुझाएका हुन् । उनले राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको र नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भनेका छन् ।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।’ सामाजिक संजालमा राजीनामा बारे जानकारी दिदै उनले भनेका छन् । उनले आफूमाथि पनि यसविषयमा छानबिन होस् भनेर माग गरेका छन् । उनले पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको समेत स्पष्ट पारेका छन् ।
‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नेदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’




प्रतिक्रिया