न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत व्यापरिक कर लगाउने र अमेरिकाको भिसा रद्दा गर्ने चेतावनी दिएपछि सैनिक विमानमार्फत फिर्ता ल्याइएका आप्रवासीलाई स्वीकार्न कोलम्बिया तयार भएको छ । यसअघि दुईवटा अमेरिकी सैनिक विमानबाट ल्याइएका गैरकानूनी आप्रवासीहरुलाई देश प्रवेश गर्न कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले रोकेपछि दुईदेशबीच तनाबको अवस्था सिर्जना भएको थियो ।
दिनभर जसो दुबै मुलुकका राष्ट्रपतिहरुले सामाजिक संजालमार्फत धम्की र चेतावनीको श्रृंखला शुरु गरेपछि दुवैतर्फबाट कुटनीतिज्ञको पहलमा सहमति कायम भएको बताइएको छ । यो सहमतिपछि ट्रम्पको २५ प्रतिशत भन्सार शुल्क र अन्य प्रतिबन्धहरूको चेतावनी तत्काल कार्यान्वयन नहुने भएको छ ।
कोलम्बियाका राष्ट्रपति पेट्रोले अमेरिकी सैन्य विमानहरूलाई फर्काएको घोषणा गरेका थिए, जसको कारण ट्रम्प र पेट्रोबीच चर्को विवाद सुरु भएको थियो। ट्रम्पले कोलम्बियामाथि २५ प्रतिशत कर लगाउने र एक हप्तापछि यसलाई ५० प्रतिशतमा बढाउने चेतावनी दिएका थिए। साथै, कोलम्बियाविरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्ध, यात्रा प्रतिबन्ध र कूटनीतिक भिसा रद्द गर्ने धम्की पनि दिइएको थियो।
पेट्रोले प्रतिकार गर्दै अमेरिकाबाट कोलम्बियामा आउने सबै आयातमा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए र पछि उक्त शुल्कलाई ५० प्रतिशतमा पुर्याउने भनाइ पनि राखेका थिए। पेट्रोले ट्रम्पलाई सिधै जवाफ दिंदै भनेका थिए, “तपाईंलाई हाम्रो स्वतन्त्रता मन छैन भने ठीकै हो, म सेतो दास प्रथा स्वीकार्दिन।“




प्रतिक्रिया