न्यू योर्क। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका ‘डेपुटी चिफ अफ स्टाफ फर पोलिसी’ नियुक्त स्टेफेन मिलरले क्यालिफोर्नियाको ‘स्याङ्चुअरी’ नीति अपनाउने सिटी तथा काउन्टीका २४९ अधिकारीहरूलाई सङ्घीय आप्रवासी कानून कार्यान्वयनमा अवरोध नगर्न चेतावनी दिएका छन्।
मिलरले उनी सञ्चालित ‘अमेरिका फस्ट लिगल’ नामक गैरनाफामूलक संस्थाका नामबाट पत्र पठाएर त्यस्तो चेतावनी दिएका हुन्। त्यस्तो पत्र पाउने मध्येमा लस एन्जलसका मेयर करेन बास, लस एन्जलस प्रहरी प्रमुख जिम म्याक्डनेल, सान डियागो काउन्टी सुपरभाइजर नोरा भारगास र क्यालिफोर्नियाका अटर्नी जनरल रब बोन्टासमेत परेका छन्। लस एन्जलस सिटी काउन्सिलले हालै ‘स्याङ्चुअरी सिटी’ को नीति पारित गरेको थियो।
लस एन्जलस टाइम्सका अनुसार पत्रमा डिसेम्बर २३ को मिति राखिएको पत्रमा देशमा गैरकानूनी रुपमा बसोबास गरिरहेका आप्रवासी हटाइनुपर्ने र उनीहरूलाई लुकाउनु, आश्रय दिनु र रक्षा गर्नु गैरकानूनी भएको उल्लेख छ। ‘क्यालिफोर्नियाका सबै नियामक निकायहरूलाई प्रतिरोधमा प्रोत्साहन मिल्ने गरी डिसेम्बर ४, २०२४ मा तपाईँले अटर्नी जनरलका हैसियतमा क्यालिफोर्निया स्टेटले फेडेरल इमिग्रेसन ल कार्यान्वयन गर्ने अभिव्यक्ति दिनुभयो,’ बोन्टालाई पठाइएको पत्रमा उल्लेख छ, ‘यस्तो बयानबाजीले क्यालिफोर्निया राज्यको फेडेरल ल ठाडै उल्लङ्घन गर्ने मनसाय प्रष्ट पार्छ। यस्तो कानूनविहीनताको अवस्था तपाईँ र तपाईँ अधिनस्थ अधिकारीहरूलाई गम्भीर आपराधिक र नागरिक दायित्वको जोखिममा पार्न सक्छ। यस्तो जोखिमबारे तपाईँलाई सचेत गराउन र देशको कानून पालनाका लागि आग्रह गर्न यो पत्र पठाएका हौँ।’
पत्रमा ती अधिकारीहरूलाई आपराधिक अभियोजनमा कारवाही गर्न सकिने धम्की समेत छ। ‘तथ्य के हो भने स्याङ्चुअरी कानून, नीति र नियमलाई समर्थन गर्नु व्यक्तिगत रोजाइ हो, त्यसबापत तपाईँले आपराधिक अभियोजनको सामना गर्न सक्नुहुन्छ।।’
हालै ट्रम्पका बोर्डर जार टम होम्यानले फक्स न्युजलाई ट्रम्प प्रशासनलाई गैरकानूनी आप्रवासी ‘डपोर्ट’ सहयोग नगर्ने अधिकारीलाई आपराधिक अभियोजन लगाइने आसयको अन्तर्वार्ता दिएका थिए। त्यसलगत्तै ट्रम्पका अर्का सहयोगी ‘डेपुटी चिफ अफ स्टाफ फर पोलिसी’ नियुक्त मिलरले यस्तो पत्र पठाएका हुन्।
करिब दुई साता अघि (डिसेम्बर १२, २०२४) मा न्यू योर्क सिटी मेयर एरिक आडम्सले बोर्डर जार नियुक्त होम्यानलाई भेटेर आप्रवासी ‘डपोर्टेसन’ बारे छलफल गरेका थिए। छलफलपछि आडम्सले होम्यान र आफ्नो विचार मिलेको अभिव्यक्ति दिएका थिए।









प्रतिक्रिया