न्यूयोर्क । न्यूयोर्कको डेमोक्र्याटिक पार्टीका नेताहरुले आगमी राष्ट्रपतिय निर्वाचनमा सक्रिय रुपमा सहभागी भएर ह्यारिस–वाल्ज टीमलाई निर्वाचित गराउन नेपाली समुदायलाई आग्रह गरेका छन् । नेपालीसहीतको एसियन अमेरिकन मतदाताहरुको संख्या निर्वाचनमा निर्णायक हुन सक्ने भएकाले आगमी निर्वाचनमा आप्रावासी सवालमा सकरात्मक रहेको डेमोक्र्याटिक पार्टीका उम्मेद्धारहरुलाई विजयी बनाउन नेपाली मतदाताहरु सक्रियपूर्वक लाग्नुपर्नेमा नेताहरुले जोड दिएका हुन् ।
न्यूयोर्क डेमोक्रेटिक क्लबले आयोजना गरेको एक छलफल कार्यक्रममा न्यूयोर्कबाट प्रतिनिधित्व गर्ने काँग्रेसवुमन ग्रेस मेङले आसन्न राष्ट्रपतिय निर्वाचन अत्यन्त महत्वपूर्ण भएकोले निर्वाचन प्रक्रियामा सहभागी हुन सबै नेपाली अमेरिकन मतदातालाई सचेत गराउनु पर्ने बताए । “यो निर्वाचनमा किन सहभागी हुने, सरकार निर्माण प्रक्रियामा किन सहभागी हुने भन्ने कुरा नेपाली अमेरिकन समुदायमा तपाईहरु आफैले आफ्नै भाषामा भन्नु भयो भने धेरै नै प्रभावकारी हुन्छ, यसको निम्ति तपाईहरुले गरेको प्रयास सकारात्मक छ” काँग्रेसवुमन ग्रेसले भने । एसियन अमेरिकन समुदायको संख्या न्यूयोर्कमा तिब्रवृद्धि भइरहेकोले यो समुदायको भोट राष्ट्रपति निर्वाचन र न्यूयोर्क राज्यको प्रतिनिधि चयनको लागि ’भिक्ट्री आफ मार्जिन’ हुन सक्ने ग्रेसले बताए । यसक्रममा नेपाली अमेरिकन समुदायको भोट समेत निर्णायक रहेको उनको भनाई थियो ।
न्यूयोर्क राज्यको डेमोक्रेटिक पार्टीकी एसियन अमेरिकन नेतृ जुली चिमले न्यूयोर्क राज्य एसियन अमेरिकन समुदायका बसोबासको हिसाबले अमेरिकाकै तेस्रो ठूलो राज्य भएको बताउदै यो समुदाय निर्वाचनमा मतदान गर्नेमा भने निकै कम रहेको जानकारी दिए । अमेरिका भरिकै तथ्याँक हेर्दा एसियन अमेरिकन समुदायका पाँच प्रतिशतले मात्र मतदानमा भाग लिने देखिएकोले राष्ट्रपति निर्वाचनमा आप्राबासी समुदायको हितमा काम गर्ने ह्यारिस–वाल्ज टीमलाई निर्वाचित गराउन सक्रियपूर्वक लाग्न नेपाली समुदायलाई आग्रह गरे । यो समुदायलाई मतदानमा सहभागिता बढाउन समुदायकै भुमिका महत्वपूर्ण हुने र नेपाली अमेरिकन समुदायलाई धेरैभन्दा धेरै सहभागी गराउन सबैले सक्रिय भएर लाग्नुपर्ने आवश्यकता उनले औल्याए ।
गत फेब्रुअरीमा भएको न्युयोर्क डिस्ट्रक थर्डको निर्वाचन परिणामको प्रसंग उल्लेख गर्दै नेतृ चिमले डेमोक्रेटिक उम्मेद्धार टम सोउजीको जीतमा एसियन अमेरिकन समुदायको भोट निर्णायक हुन सफल भएको बताए । सो निर्वाचनमा भने एसियन अमेरिकन समुदायका १२ प्रशितले मतदान गरेको र निर्वाचनमा टमले रिपब्लिकन पार्टीका उम्मेद्धारलाई १३ हजार मतले पराजीत गर्न सफल भएको उनले बताए । क्वीन्सको थोरै क्षेत्र र नासो काउन्टीलाई समेट्ने सो निर्वाचन क्षेत्रमा १ लाख १० हजार मतदाता रहेको एसियन अमेरिकनले १२ प्रतिशत मतदान गरेको तर १ लाख ३० हजार मतदाता रहेको ज्युइज समुदायको ६५ प्रतिशतले मतदान गरेको उनले जानकारी दिए । एसियन अमेरिकन नेत्री चिमले एसियन अमेरिकन समुदायले पनि धेरैभन्दा धेरै प्रतिशतमा मतदान गर्न सके आफ्ना समुदायका मानिसलाई पनि संघीय संसदमा र अन्य निर्वाचनमा आफ्नो प्रतिनिधि पठाउन सकिने बताए ।
छलफलका क्रममा न्यूयोर्क सिटीका डिस्ट्रिक्ट ३० का एसेमब्लीमेन स्टेफन रागाले आफ्नो समुदायको आवाजलाई सुन्ने बनाउनका लागि आगमी निर्वाचनमा मतदानमा सहभागी हुन नेपाली समुदायलाई आग्रह गरे । नेपाली समुदायका धेरैभन्दा धेरै सदस्यहरुलाई भोटमा रजिस्ट्रेसन हुनु पर्ने र मतदानमा सहभागी हुनु पर्ने रागाले बताए । नेपाली अमेरिकन समुदायका साथै एसियन अमेरिकन समुदायको सवालहरुमा आफु सँधै सक्रिय रुपमा सहभागी हुदै आएको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा न्यूयोर्क डेमोक्रेटिक क्बलका कानूनी सल्लहकार तथा सोसलिष्ट इन्टरनेश्नलका उपाध्यक्ष खगेन्द्र जिसीले आगमी राष्ट्रपतीय निर्वाचनमा बढी भन्दा बढी नेपालीलाई सहभागी गराउन नेपाली समुदायले प्रयास गरिरहेको जानकारी दिए । यसक्रममा क्बलले एआई चुनाबी अभियान शुरु गरेको र यसक्रममा १ लाख मतदातालाई इमेलमार्फत चुनाबी अभियानमा सहभागी गराउन आह्वान गरेको जानकारी गराए । नेपाली अमेरिकन समुदायलाई निर्वाचनमा सहभागी हुन डेमोक्रेटिक पार्टीका नेताहरुले गरेको आग्रहप्रति सम्मान गर्दै उनले अब नेपाली समुदाय अमेरिकाको मूलधारको राजनीतिमा पनि सक्रिय हुँदै जाने बताए । यसक्रममा नेपाली अमेरिकन समुदायको पनि सरकारी अंगहरुमा र न्यायलयमा समावेश हुने अवसर दिइनुपर्ने उनले माग गरे । यसैगरी क्लबका अध्यक्ष ग्यानल थापाले आगमी निर्वाचनमा सहभागी हुनका लागि दर्ता प्रक्रिया अन्तिम चरणमा रहेकोले भोटर लिष्टमा दर्ता गर्दै मतदानमा समेत सहभागी हुन नेपाली समुदायलाई आग्रह गरे । सबैले मिलेर डेमोक्रेटिक उम्मेद्धारहरुलाई विजयी बनाउनुपर्ने उनले बताए ।
कार्यक्रममा न्यूयोर्क सिटीका डेमोक्रेटिक पार्टीका नेताहरु हिराम मोन्सटेरेट, मार्टिन डोनललगायतले पनि न्यूयोकसिटीमा नेपाली समुदायको सक्रियताको प्रसंशा गर्दै राष्ट्रपति निर्वाचनमा सहभागी हुन नेपाली समुदायलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया