०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

जलवायु कोषलाई ३०० विलियन डलर पुर्याउने सहमति गर्दै कोप २९ सम्पन्न

अजरबैजानको बाकुमा निर्धारित १२ दिन (नोभेम्बर ११–२२) भन्दा दुई दिन ढीला गरी आइतबार सम्पन्न भएको सम्मेलनले जलवायु कोषलाई यसअघि निर्धारण गरेको वार्षिक १०० बिलियन अमेरिकी डलरलाई बढाएर ३०० विलियन डलर पुर्याउने सहमति गरेको हो ।
जलवायु कोषलाई ३०० विलियन डलर पुर्याउने सहमति गर्दै कोप २९ सम्पन्न

 

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन कोप २९ जलवायु कोषलाई तीन गुणा वृद्धि गर्ने निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । 

अजरबैजानको बाकुमा निर्धारित १२ दिन (नोभेम्बर ११–२२) भन्दा दुई दिन ढीला गरी आइतबार सम्पन्न भएको सम्मेलनले जलवायु कोषलाई यसअघि निर्धारण गरेको वार्षिक १०० बिलियन अमेरिकी डलरलाई बढाएर ३०० विलियन डलर पुर्याउने सहमति गरेको हो । विकरित राष्ट्रहरुबाट जम्मा गरिने यो कोषको रकम जलवायु परिवर्तनबाट प्रभावित विकासशील राष्ट्रहरुलाई प्रदान गरिने जनाइएको छ । वार्षिक ३०० विलियन डलरको वित्तिय सहयोग कार्यक्रम सन् २०३५ सम्म जारी रहनेछ । 

कोप २९ नयाँ वित्तीय लक्ष्यसहित समाप्त भएको र यो वित्तीय लक्ष्यले जलवायु प्रकोपविरुद्ध आफ्ना जनतालाई र अर्थतन्त्रलाई बचाउन मद्दत पुर्याउने र सफा ऊर्जा वृद्धि गर्ने देशहरुलाई आर्थिक सहयोग प्रदान गरिने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन कोप २९ ले जनाएको छ । २०० देशहरूको सहभागितामा भएको यो महत्वपूर्ण सम्झौता भएको पनि राष्ट्रले जनाएको छ । 

यो महत्वपूर्ण सम्झौता दुई हप्ताको गहन वार्ता र वर्षौंको तयारी कार्यपछि प्राप्त भएको भन्दै राष्ट्रसंघले खुशी व्यक्त गरेको छ । धनी देशहरूले जलवायु परिवर्तनको तयारी र रोकथाम गर्नका लागि विकासशील राष्ट्रहरूलाई ३०० अर्ब डलर दिने प्रतिवद्धता जनाएका छन्। संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनका कार्यकारी सचिव साइमोन स्टियलले भने, “यो एक कठिन यात्रा थियो, तर हामीले सम्झौतामा पुग्न सफल भएका छौं।“

सम्मेलन समापन समारोहमा सम्बोधन गर्दै स्टियलले भने, “नयाँ वित्तीय लक्ष्य मानवता लागि एक बीमा पोलिसी जस्तै हो, यो मात्र तब काम गर्छ, जब प्रिमियम समयमै र पूर्ण रूपमा तिर्ने गरिन्छ । विकशील राष्ट्रहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वाचाहरु पुरा गर्नुपर्दछ, ताकि अरबौं जीवनको रक्षा गर्न सकियोस् ।

११ नोभेम्बरमा शुरु भएको सम्मेलनका क्रममा जलवायु वार्तालााई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचनले समेत निकै जटिल बनाएको थियो । आगमी जनवरीबाट पदभार सम्हाल्ने ट्रम्प जलवायु परिवर्तनको विश्वव्यापी समस्यालाई विश्वास गर्दैनन् । उनको पहिलो कार्यकालमा २०१५ को ऐतिहासिक पेरिस सम्झौताबाट पछि हट्ने निर्णय भएको थियो । 


अर्को वर्षको जलवायु सम्मेलन, ब्राजिलको बेलेम शहरमा आयोजना हुने बताइएको छ । ब्राजिलको राष्ट्रपति लुलाले जलवायु परिवर्तन र अमेजन वर्षा वनको रक्षा गर्ने सशक्त प्रतिवद्धता जनाएका छन् । 

कोप २९ ले कार्बन बजारहरूमा समेत सहमति जनाएको छ । यी सम्झौताले देशहरूलाई आफ्ना जलवायु योजना छिटो र सस्तो बनाउन मद्दत गर्नेछन् र यस दशकको दौरान वैज्ञानिक आवश्यकताको आधारमा विश्वव्यापी उत्सर्जनको आधा गर्नेमा छिटो प्रगति समेत गर्ने विश्वास लिएको राष्ट्रसंघले जनाएको छ । 

कार्यकारी सचिव स्टियलले बाकुमा प्राप्त भएको सम्झौताले सबै पक्षहरूको अपेक्षा पूरा गर्न नसकेपनि वित्तिय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको र केही महत्वपूर्ण विषयहरूमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । 

प्रतिक्रिया