काठमाडौ । विगत तीन दिनदेखि परेको लगतारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका सम्ममा मृत्यु हुनेको संख्या ८७ पुगेको छ भने ७० भन्दाबढी बेपत्ता भएका छन् । झण्डै ४० भन्दा बढी घाइते भएका छन् ।
तीन दिनदेखि परेको लगतारको वर्षा शनिबार दिउसाबाट काठमाडौ लगायतका केही भागमा रोकिएको छ । लगतारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण राजधानी काठमाडौलगायत देशका विभिन्न भागहरुमा ठूलो भौतिक क्षेतिसमेत भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो ।
धादिङको झ्याप्लेखोलामा दुईवटा बस पहिरोले पुरिदा बसमा यात्रारत १४ जनाको मृत्यु भएको छ । एउटा माइक्रो बस र अर्को एउटा यात्रुबसबाट गरी १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । काठमाडौं र धादिङ सीमामा पर्ने सो क्षेत्रमा लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा सवार १४ जनको शव निकालिएको हो । घटनास्थलमा थप खोज तथा उद्धारको काम भइरहेको छ । त्यहाँ अरू बस पनि पुरिएको हुनसक्ने देखिएपछि खोजतलास जारी राखिएको प्रहरीको भनाई छ ।
लगतारको बाढी पहिरोका कारण बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको भने कोशी प्रदेशमा १० जनाको मृत्यु भएको छ । कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् । उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा ५० वर्षयताकै रेकर्ड ब्रेक गर्नेगरी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छव । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षेति भएको हो । डुबानमा परेका ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पु¥याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा भएको वर्षाले रेकर्ड नै तोडिएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।
बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । अर्थात् यो नेपालको नजिक थियो । यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको हो, मौसम पूर्वानुमान शाखाले भनोको छ ।
प्रतिक्रिया