न्यू योर्क। राष्ट्रपति जो बाइडेनले युद्ध, भोकमरी, जलवायु परिवर्तन जस्ता विश्वब्यापी समस्यासँग जुझ्न विश्वका नेताहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन्।
‘हामी इतिहासको साँच्चिकै पीडादायी बिन्दूमा छौं भन्ने विश्वास गर्छु,’ उनले भने, ‘आज हामीले गर्ने छनौटले हाम्रो भविष्य निर्धारण गर्छ।’ इजरायल–प्यालेस्टाइन बीचको द्वन्द, हेजबुल्लाहको आतंक, युक्रेन–रसिया युद्ध तथा चीनको बढ्दो विश्वव्यापी प्रभाव प्रभावको अमेरिकी चिन्ताका बीच बाइडेनको यस्तो अभिव्यक्ति आएको हो।
कुटनीतिक समाधन अझ सम्भव छ, दीर्घकालीन सुरक्षाका लागि यो
एकमात्र अन्तिम उपाय हो।
उनले रसिया युक्रेन र नेटोलाई ध्वस्त बनाउन असफल रहेको उल्लेख गरे। साथै, हेजबुल्लाहको हमला र गाजामा भइरहेको अत्याचारको विवरण पनि सुनाए। अमेरिकाले प्रस्तुत गरेको र राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको युद्धविराम प्रस्तावलाई अन्तिम रुप दिन उनले अनुरोध गर्न पनि भ्याए। ‘युक्रेन स्वतन्त्र खडा छ, नेटो स्वीडेन र फिनल्याण्ड थपिएर अझ बलियो बनेको छ,’ उनले भने, ‘गाजामा मानिसहरु नरकको जीवन भोगिरहेका छन्।’
उनले इजरायली बन्दी छोड्न र मध्यपूर्वको तनाव अन्त्य गर्न आह्वान गरे। ‘कुटनीतिक समाधन अझ सम्भव छ,’ उनले भने, ‘दीर्घकालीन सुरक्षाका लागि यो एकमात्र अन्तिम उपाय हो।’
राष्ट्रसंघीय महासभामा उनले ‘आर्टिफिसियल इन्टलिजेन्स’ को जोखिमका बारेमा पनि बोल्न भ्याए। उनले ‘आर्टिफिसियल इन्टलिजेन्स’ ले मानिसको जीवन पद्धति, काम गर्ने प्रणाली र युद्धको विधिमा परिवर्तन गर्ने बताए। साथै, उनले ‘आर्टिफिसियल इन्टलिजेन्स’ ले सर्बसाधारणलाई सशक्तिकरण गर्ने सुनिश्चिता गर्न सम्बन्धित राष्ट्रलाई सचेत गराए। अमेरिकी राष्ट्पतिका रुपमा राष्ट्रसंघीय महासभामा यो बाइडेनको अन्तिम सम्बोधन हो।
प्रतिक्रिया