१९ फागुन २०८२, मङ्गलबार
Tue, Mar 3, 2026
SUBSCRIPTION

ब्राड ल्याण्डरले ड्यान गोल्डम्यानविरुद्ध उम्मेदवारी घोषणा गरे, जिविकोपार्जन र आप्रवासन मुख्य मुद्दा

ब्राड ल्याण्डरले ड्यान गोल्डम्यानविरुद्ध उम्मेदवारी घोषणा गरे, जिविकोपार्जन र आप्रवासन मुख्य मुद्दा

न्यू योर्क। न्यू योर्क सिटीका बाहिरिँदै गरेका कम्प्ट्रोलर ब्राड ल्याण्डरले अब कङ्ग्रेसमा प्रवेश गर्ने घोषणा गरेका छन्। राजनीतिक समाचार वेबसाइट पोलिटिकोका अनुसार उनले लोअर म्यानहट्टन र ब्रुक्लिनको केही भाग समेट्ने फेडरल निर्वाचन क्षेत्र न्युयोर्क–१० मा वर्तमान कङ्ग्रेसम्यान ड्यान गोल्डम्यानविरुद्ध डेमोक्रेटिक प्राइमरी लड्ने तयारी गरेका हुन्।

ल्याण्डरले आफ्नो चुनावी अभियान भिडियोमा “ट्रम्पको प्रभाव, असमानता र आप्रवासी समुदायमाथिको अन्याय” विरुद्ध उभिन र “अधिनायकवादी सोचविरुद्धको संघर्षमा गर्न” उम्मेदवार भएको दाबी गरेका छन्।

मध्यमार्गी धारका ड्यान गोल्डम्यान हाल न्युयोर्क–१० का डेमोक्रेटिक सांसद हुन्। उनले सन् २०२३ देखि प्रतिनिधिसभामा काम गरिरहेका छन्। गोल्डम्यान पहिला संघीय अभियोजक थिए र उनले डोनाल्ड ट्रम्पको पहिलो ‘महाभियोग’ (इम्पिचमेन्ट ) प्रक्रियामा हाउस डेमोक्रेटिक पक्षका प्रमुख कानुनी सल्लाहकारको भूमिका निभाएका थिए।

न्यू योर्क–१० क्षेत्रमा लोअर म्यानहट्टन, वाल स्ट्रिट वरपरका क्षेत्र, ब्रुक्लिन हाइट्स, पार्क स्लोप, विन्डसर टेर्रेस, सनसेट पार्क जस्ता इलाका पर्दछन्। यस क्षेत्रलाई अत्यन्त डेमोक्रेटिक झुकाव भएको शहरी क्षेत्र मानिन्छ, जहाँ प्राइमरी नै निर्णायक चुनाव जस्तै मानिन्छ।

ल्याण्डर भने लामो समयदेखि प्रगतिशील धारको प्रतिनिधि मानिन्छन्। उनले मेयर–निर्वाचित जोहरन ममदानीसँग नजिकको सहकार्य गर्दै मजदुर अधिकार, भाडा, आवास र आप्रवासी अधिकारको मुद्दामा काम गरेका छन्। 

यस चुनावको सन्दर्भमा २६ फेडेरल प्लाजाको घटना प्रमुख राजनीतिक विषय बनेको छ। २०२५ सेप्टेम्बर १८ मा ल्याण्डर र करिब एक दर्जन राज्य तथा सिटीका निर्वाचित प्रतिनिधि म्यानहट्टनस्थित २६ फेडेरल प्लाजामा रहेको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) को अस्थायी हिरासत कक्ष हेर्न पुगेका थिए। अत्यधिक भीड, सफाइ समस्या र कैदीहरूलाई नांगो भुइँमा सुताइएको भन्ने गुनासो आएपछि उनीहरू १०औँ तलामा रहेका हिरासतमा प्रवेश गर्न खोज्दा संघीय अधिकारीहरूले नियन्त्रणमा लिएका थिए।

यस घटनापछि ल्याण्डरमाथि संघीय ‘मिस्डिमिनर’ (सामान्य अपराध) को मुद्दा दायर भएको छ। उनीमाथि २६ फेडेरल प्लाजाको १०औँ तलामा एलिभेटर र भर्‍याङको भाग अवरुद्ध गरेको, र संघीय कार्यालयको सामान्य काममा बाधा गरेको आरोप छ। त्यसअघि पनि ल्यान्डर सुनुवाईमा गएका एक आप्रवासीलाई गिरफ्तारीबाट जोगाएर सुरक्षित बाहिर निकाल्न खोज्दा पक्राउ परेका थिए।

एपीले जनाएअनुसार ल्याण्डरले आफ्नो अभियानमा ट्रम्पको नीतिको निरन्तर प्रभाव, आप्रवासीमाथिको कठोर कार्यवाही र अर्बपतिको पैसा (सुपर–प्याक, लबी समूह, धनी दाताहरू) को प्रभावलाई मुख्य राजनीतिक समस्याको रूपमा चित्रण गरेका छन्। 

प्रतिक्रिया