१७ वैशाख २०८३, बिहिबार
Thu, Apr 30, 2026
SUBSCRIPTION

ग्रेसी म्यान्सनबाहिर “आइइडी” प्रहार

ग्रेसी म्यान्सनबाहिर “आइइडी” प्रहार

न्यु योर्क। मेयर जोहरान माम्दानीको सरकारी निवास ग्रेसी म्यान्सनबाहिर भएको प्रदर्शनका क्रममा इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस (आईईडी) फ्याँकिएको छ। एनवाइपीडीले यो वास्तविक विस्फोटक पदार्थ भएको जनाएको छ। 

पुलिसका अनुसार यस्तो उपकरणले गम्भीर चोट वा मृत्यु गराउन सक्थ्यो। यो घटना शनिबार (मार्च ७) भएको हो। ग्रेसी म्यान्सनबाहिर दुई पक्षबीच तनावपूर्ण प्रदर्शन भइरहेको थियो। जेक ल्याङले मुस्लिमविरोधी प्रदर्शन आयोजना गरेका थिए। त्यसको विरोधमा ठूलो काउन्टर-प्रोटेस्ट पनि भएको थियो। यही क्रममा एक थान आईईडी भीडतर्फ फ्याँकिएको थियो। फ्याँकिएको अर्को एउटा उपकरणको भने परीक्षण भइरहेको प्रहरीले जनाएको छ। 

पुलिस कमिश्नर जेसिका टिशका अनुसार उपकरण जारभित्र बनाइएको थियो। त्यसमा नट, बोल्ट र स्क्रु राखिएको थियो। बाहिर कालो टेप बेरिएको थियो। त्यसमा फ्युज पनि जडान गरिएको थियो। एनवाइपीडीले यो स्मोक डिभाइस वा नक्कली वस्तु नभएको स्पष्ट पारेको छ। 

घटनापछि कम्तीमा ६ जनालाई पक्राउ गरिएको छ। तीमध्ये दुई जनामाथि आईईडी उपकरणसँग सम्बन्धित आरोप लगाइएको छ। एक जनामाथि पेपर स्प्रे प्रयोग गरेको आरोप छ। अरूमाथि “डिसअर्डरली कन्डक्ट” र ट्राफिक अवरोधको आरोप लगाइएको छ। हाल एफबीआई, एनवाइपिडी र डिपार्ट्मेन्ट अफ जस्टिस मिलेर अनुसन्धान गरिरहेका छन्। सीबीएसका अनुसार घटनालाई आतङ्कवादको कोणबाट पनि हेरिएको छ। 

मेयर माम्दानीले आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै जेक ल्याङको प्रदर्शनलाई “बिगोट्री र रेसिजममा आधारित” भनेका छन्। उनले यस्तो घृणालाई न्युयोर्क सिटीको मूल्यविरुद्धको काम बताएका छन्। साथै उनले हिंसात्मक प्रतिक्रिया पनि अस्वीकार्य भएको स्पष्ट पारेका छन्। मामदानीले भनेका छन्, “प्रदर्शनमा हिंसा कहिल्यै स्वीकार्य हुँदैन।” उनले विस्फोटक उपकरण प्रयोग गरेर अरूलाई हानि पुर्‍याउने प्रयास आपराधिक र घृणित भएको पनि बताएका छन्। 

मेयरको कार्यालयका अनुसार माम्दानी र उनकी पत्नी रमा दुवाजी सुरक्षित छन्। यो घटनाले न्युयोर्क सिटीका पहिलो मुस्लिम मेयरको सुरक्षामाथि फेरि गम्भीर प्रश्न उठाएको छ। यो घटनाले सहरभित्रको राजनीतिक ध्रुवीकरण, मुस्लिमविरोधी उक्साहट र सार्वजनिक सुरक्षाको चुनौती एकैसाथ देखाएको छ।

प्रतिक्रिया