न्युयोर्क । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुने प्रतिस्पर्धाबाट उम्मेद्धारी फिर्ता लिने घोषणा गरेका छन् । निर्वाचन मिति आउन पाँच हप्ता मात्र बाँकी रहँदा एडाम्सले आइताबार आफुलाई प्रतिस्पर्धाबाट अलग राख्ने निर्णय सार्वजानिक गरेका हुन् । एरिकको यो निर्णयसंगै अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कको मेयर पदको दौडलाई थप प्रतिस्पर्धात्मक बनाइदिएको छ।
आइताबार सामाजिक सञ्जालमा करिब नौ मिनेट लामो भिडियो सन्देश दिदै एडम्सले आफ्ना सबै प्रयासका बाबजुद पुनःनिर्वाचन सम्भव नदेखिएको स्वीकारेका हुन् । उनले आफ्नो पदत्याग गर्ने भन्ने निरन्तर मिडिया अटकलबाजी“ र सिटी क्याम्पेन फाइनान्स बोर्डले सार्वजनिक कोष नदिएको निर्णयलाई आफ्नो अभियान असफल हुनुको प्रमुख कारण भएको उल्लेख गरेका छन् । तर, पछिल्ला निर्वाचन मत सर्वेक्षेण रिपोर्टहरुमा भने एडम्स लगतार पछि पर्दै आएका थिए ।
एडम्सले आफ्नो उम्मेद्धारी फिर्तापछि कसलाई समर्थन रहने भन्ने स्पष्ट नपारेपनि प्रतिस्पर्धाको अग्रस्थानमा रहदै आएका डेमोक्रेटिक उम्मेद्धार जोह्रान मम्दानीको आलोचना गरेका छन् । उनले अप्रत्यक्ष रूपमा डेमोक्र्याटिक उम्मेदवार तथा अगाडि रहेका मम्दानीलाई चेतावनी दिने शैलीमा भने, “सहर र मुलुकलाई घृणा गर्न हाम्रा बालबालिकालाई उक्साउने चरमपन्थी शक्तिहरू बढ्दै गएको“ । उनले विभाजनकारी राजनीतिप्रति सतर्क रहन आग्रह समेत गरेका छन् ।
“ठूलो परिवर्तन स्वागतयोग्य र आवश्यक हुन्छ,” उनले भने, “तर प्रणाली नै ध्वस्त पार्न खोज्नेहरूबाट सावधान रहनुपर्छ।” एडम्सको यो घोषणा उनको दशकौँ लामो राजनीतिक यात्राको नाटकीय अन्त्य बनेको छ। क्विन्समा जन्मिएका श्रमिक परिवारका छोरा एडम्सलाई एकताका न्युयोर्कमा डेमोक्र्याटिक नेताको सम्भावित राम्रा अनुहारको रुपमा मानिन्थे । तर भ्रष्टाचारको आरोप र राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको विवादास्पद सहमतिले उनको राजनीतिक जीवनलाई समाप्त पारिदिएको छ ।
हालैका महिनाहरूमा एडम्सले लगातार खराब सर्वेक्षण नतिजा, संघीय भ्रष्टाचार मुद्दा, राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादास्पद सम्बन्ध, तथा निर्वाचनको लागि सार्वजनिक कोष अभाव जस्ता अवस्थाको सामना गर्दै आएका थिए । उम्मेद्धारी फिर्ता लिएपनि उनको नाम नोभेम्बर चुनाबको मतपत्रमा भने रहनेछ, किनभने नाम फिर्ता लिने अन्तिम समयसीमा सकिएको छ।
एडम्सको बाहिरिने निर्णयले दौडमा रहेका अन्य उम्मेदवारहरूवीचको प्रतिस्पधौ भने थप रोचक बनेको छ । स्वतन्त्र उम्मेद्धार पूर्व गभर्नर एन्ड्र्यु कुमोले एडम्सका समर्थक तथा दाताहरूलाई आफ्नो पक्षमा तान्ने प्रयास थालेका छन्। तर सर्वेक्षण अनुसार अगाडि रहेका मम्दानीलाई पछ्याउन उनको लागि समय निकै कम रहेको विश्लेषण गरिएको छ । यता रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवाले भने दौड छोड्ने सबै आग्रह अस्वीकार गर्दै आफुलाई बलियो दावेदारको रुपमा प्रस्तुत गरेका छन् ।



प्रतिक्रिया