न्यू योर्क। राष्ट्रसङ्घीय ‘क्लाइमेट विक’ को उद्घाटनसँगै आज म्यानह्याटनमा ‘मेक बिलियनियर्स पे’ माग सहित २५ हजारभन्दा बढी प्रदर्शनकारीले र्याली निकाले। र्याली मिड टाउन हुँदै 'बिलियनियर्स रो' पार गरेर ट्रम्प होटल, ब्ल्याक रक र पार्क एभेन्यु पेन्टहाउस अगाडि पुगेको थियो।
र्याली सहभागीहरूले धनीका लागि कर कटौती, ठूला तेल उत्पादकहरूलाई दिइने सहयोग र बढ्दो असमानताको विरोध गर्दै जलवायु न्याय, आप्रवासी अधिकार र अर्बपतिहरूलाई कर लगाउने माग उठाए। र्यालीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। र्यालीमा सरोकारवाला, युवा, बिभिन्न समुदाय र जलवायु सङ्कटको फ्रन्टलाइनमा रहेका मानिसहरूको उपस्थिति थियो।

न्यू योर्कको यो प्रदर्शन यो साता अन्त्यसम्म अमेरिकाभर आयोजना हुने एक सय ६० भन्दा बढी “मेक बिलियनियर्स पे” कार्यक्रम मध्ये एक हो। यो विश्वव्यापी ‘ड्र द लाइन’ क्लाइमेट जस्टिस विकको अमेरिकी हिस्सा हो, जसअन्तर्गत ९७ देशमा पाँच सय ५० भन्दा बढी र्याली तथा मार्च आयोजना गरिने छन्।
र्याली ड्रम (देसिस राइजिङ अप एन्ड मूभिङ), विमेन्स मार्च, क्लाइमेट डिफेन्डर्स र थ्री फिफ्टी डट ओआरजीले आयोजना गरेको हो। यसलाई दुई सय भन्दा बढी श्रमिक, जलवायु, स्वास्थ्य र आप्रवासी न्यायसम्बन्धी संस्थाहरूले समर्थन गरेका छन्। आयोजकहरूको मूल माग अत्यधिक सम्पत्तिमा कर लगाउने, खनिज इन्धन अनुदान अन्त्य गर्ने र तेल कम्पनीहरूलाई क्षतिको मुआब्जा तिराउने भन्ने छ। साथै अलग गरिएका आप्रवासी परिवारहरू पुनर्मिलन गर्ने, आईससँगको सहकार्य अन्त्य गर्ने, निर्वासन रोक्ने र फ्रन्टलाइन समुदायलाई प्राथमिकता दिँदै शतप्रतिशत नवीकरणीय ऊर्जातर्फ न्यायपूर्ण रूपान्तरणका लागि लगानी गर्ने माग पनि राखिएका छन्।

विमन्स मार्चकी म्यानेजिङ डाइरेक्टर तामिका मिडलटनले अर्बपतिहरूले नाफाका लागि हाम्रो ग्रहको विनाश गर्दा, उनीहरूले अल्प आय भएका र सीमान्तकृत समुदायका महिलाहरूको भविष्यमा आगो लगाइरहेका हुने बताइन। ‘आज हामी वातावरणीय न्यायको माग गर्न, आप्रवासीहरूमाथि गरिएका आक्रमण रोक्न र आदेश दिने फासिस्ट मानसिकतालाई चुनौती दिन सडकमा उत्रिएका छौँ,’ उनले भनिन।
थ्री फिफ्टी डट ओआरजीका सिनियर पार्टनरशिप्स कोअर्डिनेटर निको उदु-गामाले भने, ‘लामो समयदेखि अर्बपतिहरूले नाफालाई प्राथमिकता दिँदा बाँकी सबैले त्यसबाट भएको विनाशको मूल्य चुकाइरहनु परेको बताए। ‘संयुक्त राज्य र विश्व जलवायु विपत्तिका असर र बढ्दो ऊर्जा बिलले हैरान भइरहेको यो बेला मानिस र ग्रहका लागि ‘ड्र द लाइन’ गर्ने समय आएको छ,’ उनले भने।
ड्रम (देसिस राइजिङ अप एन्ड मूभिङ) की अर्गनाइजिङ डाइरेक्टर काजी फौजियाले आप्रवासी समुदायमाथिको असर उजागर गर्दै भनिन्, ‘हामी विस्थापित कामदार आप्रवासीहरू गृहदेश र अमेरिकामा दुवै फ्रन्टलाइनमा मार खाइरहेका छौँ।’ उनले अर्बपतिहरुले जलवायु अराजकता बढाएको , हाम्रो भूमि र पानी दूषित पारेको, र परिवार छुट्याउने डिटेन्सन र सैन्यीकरणबाट नाफा कमाएको उल्लेख गर्दै भनिन, ‘हामी धेरै छौँ, अर्बपतिहरू थोरै छन्। हामी सम्मान र मानवीय व्यवहारका लड्ने छौँ।’

अयल चेन्ज इन्टरनेशनलका संयुक्त राज्य अभियान प्रबन्धक कोलिन रीसले संघीय सरकारले खनिज इन्धन उद्योगलाई दिने अनुदानबारे नयाँ तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘हाम्रो नयाँ अनुसन्धानले देखाएको छ, अमेरिकी सरकारले हरेक वर्ष खनिज इन्धन उद्योगलाई करिब ३५ अर्ब डलरको दिन्छ। राष्ट्रसंघ महासभा र क्लाइमेट विकका लागि न्यूयोर्क आएका नेताहरूले अब अनुदान अन्त्य गर्न, धनीमाथि कर लगाउन, र बस्न योग्य भविष्यका लागि कोष जुटाउन गरिएको माग सुन्नै पर्छ।’
क्लाइमेट डिफेन्डर्सकी आयोजक रेनाटा पुमारोलले जलवायु अराजकता सिर्जना गर्ने, अधिनायकवादलाई अगुवा गर्ने र हाम्रो दुःखबाट नाफा कमाइरहने अर्बपतिहरूलाई आजको प्रदर्शनीबाट प्रष्ट सन्देश दिएको बताइन। ‘आज हामीले ठूला स्वरमा सन्देश पठायौँ,’ उनले भनिन, ‘अब अर्बपतिहरूले तिर्नुपर्छ।’
पिपल्स एक्शन इन्स्टिच्युटकी कार्यकारी निर्देशक सुल्मा आरियासले प्रदर्शनलाई व्यापक आर्थिक मुद्दासँग जोडिन। उनले भनिन्, ‘हामी अर्बपतिहरूले तिर्नुपर्ने बिलहरू आम जनतामाथि थोपर्ने प्रवृत्तिबाट दिक्क भइसकेका छौँ। सबैलाई सुरक्षित, लोकतान्त्रिक र समृद्ध भविष्य चाहिन्छ। अर्बपतिहरू र कार्पोरेशनहरूले लुट नगरे स्रोत पर्याप्त छ। हामी सबैको प्रगतिका लागि उनीहरूले न्यायोचित अंश तिर्ने सुनिश्चित गर्न सङ्गठित हुँदैछौँ।’
आयोजकहरूका अनुसार, यो साता अमेरिका भरका शहरहरूमा थप कार्यक्रमहरू हुँदैछन्। न्यू योर्कको ठूलो सहभागिताले संयुक्त राष्ट्रसंघ महासभाको सभामाझ र क्लाइमेट वीकका बैठकहरूबीच जलवायु न्याय, आप्रवासी अधिकार र आर्थिक समानताबारे जनआवाजलाई केन्द्रमा ल्याएको छ।





प्रतिक्रिया