न्यू योर्क। सफोक विश्वविद्यालयको नयाँ सर्वेक्षणले डेमोक्र्याट जोहरान मम्दानीले न्यू योर्क सिटी मेयर निर्वाचनको दौडमा २० अंकको स्पष्ट अग्रता कायम गरेको देखाएको छ। निर्वाचन हुन अझै छ हप्ता बाँकी रहँदा विश्वविद्यालयले गरेको सर्वेक्षणले यस्तो देखाएको हो।
सर्वेक्षण (सेप्टेम्बर १६–१८) मा भएको थियो। त्यसअनुसार मतदान गर्न ‘धेरै’ वा ‘केही’ सम्भावना छ भन्ने मतदातामध्ये मम्दानीले ४५ प्रतिशत समर्थन पाए। डेमोक्र्याटिक प्राइमरी हारेपछि स्वतन्त्र उम्मेदवारका रूपमा दौडिरहेका एन्ड्र्यू कुमोले भने २५ प्रतिशत समर्थन पाएका छन्। रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवाले ९ प्रतिशत र मयर एरिक एडाम्स (स्वतन्त्र) ले ८ प्रतिशत समर्थन पाएका छन्। अन्य तीन उम्मेदवारले १ प्रतिशत समर्थन पाएका छन् भने ९ प्रतिशत मतदाता अनिर्णित छन्।

सफोकले आधिकारिक मतपत्रमा रहेका सातै उम्मेदवार र नौ वटा पार्टी लाइन समेटिएको यो पहिलो सार्वजनिक सर्वेक्षण भएको जनाएको छ।
सफोक विश्वविद्यालयको पोलिटिकल रिसर्च सेन्टरका निर्देशक डेभिड पालेओलोगोसले प्रष्ट पार्दै भनेका छन, ‘आधिकारिक मतपत्रमा मम्दानी र स्लिवा दुवै दुई–दुई पटक देखिन्छन्, किनकि उनीहरूलाई दुई वटा पार्टीले आफ्नो उम्मेदवार बनाएका छन्।’ मम्दानीका डेमोक्र्याटिक पार्टीका उमेदवारका रूपमा पहिलो नम्बरमा र वर्किङ फ्यामिलिज पार्टीका उमेदवारका रूपमा चौथो नम्बरमा फेरि सूचीबद्ध छन्। कुमो मतपत्रमा एक पटक मात्र देखिन्छन्। नौ उम्मेदवार मध्ये उनको नाम आठौँ स्थानमा सूचीबद्ध छ।
सफोक विश्वविद्यालयको सर्वेक्षणको नतिजा यही महिना भएका अरू चार सर्वेक्षणको नतिजासँग मेल खान्छ। ती सर्वेक्षणहरूले मम्दानीलाई १५ देखि २२ अंकसम्मको अग्रतासहित अगाडि देखाएका थिए। पछिल्लो समयमा प्रतिस्पर्धा सिमित बनाउन दबाब भए पनि स्लिवा र एडाम्स दुवैले उम्मेदवारी फिर्ता नलिने दोहोर्याएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले कुमोलाई जिताउन र मम्दानीलाई हराउन स्लिवा र एडाम्सको उम्मीदवारी फिर्ता हुनुपर्ने भन्दै सार्वजनिक अपिल गरेका थिए।
निर्वाचित भए युगाण्डामा जन्मिएका ३३ वर्षीय मम्दानी न्यू योर्क सिटीका पहिलो मुस्लिम र पहिलो ‘मिलेनियल’ मेयर हुनेछन्। उनले जुनमा भएको डेमोक्र्याटिक प्राइमरीमा जीवनयापनको लागत धान्न सकिने बनाउन महङ्गी नियन्त्रण गर्ने भन्दै चुनावी अभियान चलाएका थिए। त्यसलाई ग्रासरूट’ समुदायले समर्थन गरेका थिए। कांग्रेसवुमन एलेक्जान्द्रिया ओकासियो–कोर्टेज र सिनेटर बर्नी स्यान्डर्सजस्ता शीर्ष प्रगतिशील नेताहरूले समेत समर्थन गरे पछि उनले प्राइमरी जीतेका थिए।
उनका प्रस्तावमा सिटी बस निःशुल्क बनाउने, सिटी युनिभर्सिटी “ट्युशन–फ्री” बनाउने, आवास भाडामा स्थिरता (रेन्ट फ्रिज) ल्याउने, पाँच वर्षसम्मका बालबालिकाका लागि निःशुल्क हेरचाह, र सरकारी किराना पसल स्थापना जस्ता एजेन्डा छन्। प्रतिद्वन्द्वीहरूले यी नीतिहरूको “अत्यन्त वामपन्थी” भनेर आलोचना गरेका छन्। त्यससँगै इजरायलबारे उनको टिप्पणी र प्रहरीका केही काम सामाजिक सेवातर्फ सार्ने प्रस्तावमाथि पनि विपक्षीहरू असहमत छन्।
सर्बेक्षणले मतदाताका प्राथमिकतामा 'वहनक्षमता/जीवन खर्च' २१ प्रतिशत समर्थन सहित पहिलो मुद्दा बताएको देखाएको छ। त्यसपछि अपराधमा २० प्रतिशत, अर्थतन्त्र/रोजगारमा १४ प्रतिशत र आवासमा ९ प्रतिशत मतदाताले समर्थन जनाए। सामाजिक सञ्जालमा फैलिएका नकारात्मक दाबीहरूको सन्दर्भमा सर्वेक्षणमा सहभागी ५९ प्रतिशत मतदाताले ‘मम्दानी जुइश विरोधी हुन्’ भन्ने अस्वीकार गरे। ५२ प्रतिशतले ‘मम्दानीले कर बढाउँदा व्यवसायहरू भाग्छन्’ भन्ने दाबी पनि अस्वीकार गरे। उता, ५३% ले ‘कुमो निर्वाचित भएमा अनवान्टेड ग्रोपिङ जस्ता विगतका विवादास्पद व्यवहार जारी रहन्छ' भन्ने दाबी अस्वीकार गरे।




प्रतिक्रिया