एजेन्सी। राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अपराध आपतकाल’ घोषणा गरेपछि मंगलवारसम्म छ जना रिपब्लिकन गभर्नरले आफ्ना नेशनल गार्ड वासिङ्टन डीसी पठाउन स्वीकृति दिएका छन्। यसले डीसीमा एक हजार एक सयभन्दा बढी गार्ड थपिने अनुमान छ। यो डीसीको आफ्नै नेशनल गार्डको तैनाथीबाहेक हो।
मंगलवार नेशनल गार्ड परिचालनको नयाँ स्वीकृति पाउनेमा मिसिसिपी, टेनेसी र लुइसियाना छन। यस अघि नर्थ क्यारोलाइना, वेस्ट भर्जिनिया र ओहायोले वाशिंगटनमा नेशनल गार्ड पठाएका थिए।
किन पठाइयो?
गभर्नरहरूले यो कदमलाई “कानून र व्यवस्था पुनर्स्थापना” को समर्थन भनेका छन। उनीहरूले संघीय भवन र स्मारक सुरक्षा, सवारी व्यवस्थापन र सुरक्षा गस्तीमा सहयोग गर्ने बताएका छन। तर यो तैनाथी ट्रम्पको कार्यकारी आदेश र डीसी प्रहरीमाथि संघीय नियन्त्रण प्रयाससँग जोडिएको छ।
वासिङ्टनमा यसको अर्थ
नेशनल गार्डको तैनाथी सगैँ ‘हाई प्रोफाइल’ क्षेत्रमा सैनिक शैलीका गस्ती देखिन थालेका छन्। युनियन स्टेशन र नेशनल मलबाहिर कडाइ बढेको छ। अधिकारीहरूले यातायात घटेको र केही कारोबारमा कमि आएको बताएका छन्। डीसी नेताहरूले अपराध दर २०२३ यतादेखि घट्दो रहेकाले “अत्यधिक सैन्यकरण” अनावश्यक भएको दाबी गरेका छन।
वाशिंगटनमा संघीय अधिकारको दायरा किनारा लगाउन अदालतमा मुद्दा चलिरहेको छ। ट्रम्प पक्षको ‘आपतकालीन पुलिस कमिस्नर’ नियुक्ति प्रयास र मेट्रोपोलिटन पुलिस (एमपीडी) माथि नियन्त्रणको दाबी चुनौतीमा परेको छ। डीसीले नेतृत्वले एमपीडी अंतर्गत स्थानीय नियन्त्रणमै रहेको स्पष्ट पारेको छ। गार्डका सदस्यले संघीय एजेन्सीलाई मात्र सहयोग गरिरहेको जनाइएको छ।
आप्रवासीमाथि असर
डीसीमा चलाइएको संघीय अभियानमा धेरै गिरफ्तारी भएका छन्। प्रारम्भिक तथ्यांकमा करिब तीन सय ८० गिरफ्तारमध्ये एक सय ६० जना कागजातविहीन देखिएका थिए। पछि कुल गिरफ्तारी चार सय ५०भन्दा बढी पुगेको रिपोर्ट छ। अधिकारकर्मी र आप्रवासी समूहहरूले त्रासको वातावरण बढेको, क्याम्प सफाइ र मुख ढाकेको अधिकारीका कारण समुदाय आतंकित भएको बताए।
यसले ट्रम्पको अपराध–आप्रवासन कडाइलाई बल दिएको छ। डीसी सरकारको तनाव, कानुनी विवाद, र आप्रवासी समुदायमा डर पनि बढेको छ।




प्रतिक्रिया