न्यूयोर्क । सर्वत्र विरोध र कानूनी झमेलाका बाबजुद न्यूयोर्कसिटीको म्यानहटनस्तिथ अतिव्यस्त क्षेत्रमा प्रवेश गर्ने सवारी साधानले आजबाट सवारी चाप नियन्त्रण शुल्क (कन्जेस्सन प्राइस) तिर्नुपर्ने भएको छ । यो शुल्क आज अर्थात जनवरी ५ को मध्येराती १२ बजेबाट लागु हुने मेट्रोपोलिटन ट्रान्सपोर्टेशन अथोरिटी (एमटीए)ले जनाएको छ । म्यानहटन शहरको सिक्सी स्ट्रिटबाट दक्षिणतर्फ प्रवेश गर्ने सबै सवारी साधानले यस्तो शुल्क तिर्नुपर्ने भएको हो ।
यो शुल्क सवारी साधानको प्रकार र प्रवेशको समयको आधारमा फरक फरक दरमा तिर्नुपर्ने एमटीएले निर्धारण गरेको छ । जसमा म्यानहटनको ६० औं स्ट्रीटभन्दा तल प्रवेश गर्ने हल्का गाडीको लागि ९ डलरको तोकिएको छ । यो पिक आवर अर्थात बिहान ५ देखि राती ९ बजेसम्मको शुल्क दर हो । अफ आवर अर्थात राती ९ बजेदेखि विहान ५ बजेसम्म भने यो शुल्कमा ७५ प्रतिशत कम अर्थात २.२५ डलर तय गरेको एमटीएले जनाएको छ । विकेण्डको दिनको लागि भने पिक आवरको समय विहान ९ बजेबाट शुरु हुने छ ।
यसैगरी मोटरसाइकलको लागि यो शुल्क पिक आवरमा ४.५० डलर र अफ आवरमा १.५ डलर तोकिएको छ । यस्तै मझौला ट्रक तथा बसले पिक आवरमा १४.४० डलर र अफ आवरमा ३.५० डलर तिर्नुपर्ने छ भने ठूला बस तथा ट्रकहरुले पिक आवरमा २१.६० डलर र अफ आवरमा ५.४० डलर शुल्क तिर्नुपर्ने छ । उवर÷लिफ्ट कार र ट्याक्सीले भने हरेक ट्रिपको आधारमा शुल्क तिर्नुपर्ने भएको छ । यो दर उवर÷लिफ्ट कारले प्रति ट्रिप १.५० डलर र ट्याक्सीले प्रतिट्रिप ७५ सेन्ट तिर्नु पर्नेछ । टीएलसी नम्बर प्लेटका यी गाडीहरुले तिर्नुपर्ने शुल्क भने यात्रुले नै तिर्नेछन् ।
एमटीएको यो निर्णय कार्यान्वयनमा ल्याउने न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलको घोषणालाई विभिन्न समूहबाट विरोध र कानूनी चुनौति दिएका थिए । त्यसका बाबजुद गभर्नर होकुलले आफ्नो घोषणालाई कार्यान्वयन गर्दै शहर प्रवेशको लागि सवारी साधानले शुल्क तिर्नुपर्ने अमेरिकाको पहिलो शहरको रुपमा म्यानहटन बनाएका छन् । न्यूयोर्कका विभिन्न संघसंस्था र न्यू जर्सीका गभर्नरको कार्यालयले समेत न्यूयोर्क राज्यका गभर्नर क्याथी होकुलको यो घोषणाको विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले ती मुद्दहरुलाई खारेज गरिदिएपछि यो निर्णय कार्यान्वयनमा बाटो खुलेको हो । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प समेत यो घोषणाप्रति असन्तुष्ट छन् ।
ट्रकिङ एशोसिएसन अफ न्यू योर्क, ब्याटरी पार्कका निवासीहरू, र यूनाइटेड फेडरेशन अफ टीचर्स जस्ता युनियन र सामुदायिक संगठनहरूले शुल्कको विरोध गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए । तर कन्जेसन प्राइसिङलाई खारेज गर्ने मागले सार्वजनिक यातयातको विकासको योजनालाई नकारात्मक असर पार्ने र यस कार्यक्रमबाट प्राप्त हुने वातावरणीय र आर्थिक लाभहरूलाई ढिलाइ गर्ने दावी गर्दै अदालतले मुद्दा खारेज गरेको थियो । तर, न्यूजर्सी गभर्नरको कार्यालयले दिएको मुद्दामा भने शुक्रबार संघीय अदालतले लिखित रुपमा केही विवरण पेश गर्न आदेश दिएको छ । यद्धपि ती आदेशमा शुल्क लिने निर्णय रोक्न भने नभनेको बताइएको छ ।
न्यू जर्सीका संघीय न्यायधीश लिओ गोर्डनले ७२ पृष्ठको निर्णय जारी गर्दै न्यू जर्सी राज्यका कन्जेसन प्राइसिङका बारेका अधिकांश गुनासाहरू अस्वीकृत गरे । यद्यपि, उनले कन्जेसन प्राइसिङको न्यू जर्सीका समुदायहरूमा पर्ने सम्भावित प्रभावहरूबारे थप अध्ययनको आवश्यकता रहेको निर्णय गरे, विशेष गरी टोलको प्रभावले गार्डन स्टेटको वायु गुणस्तरमा कस्तो असर पर्ने हो भन्ने चासो राखेको छ । ती विषयहरुमा जनवरी १७ सम्म जवाफ दिनुपर्ने आदेशमा उल्लेख छ ।
एमटीएको दावी अनुसार कन्जेसन प्राइसबाट संकलित रकमले न्यूयोर्क सिटीको यातयातको सुधारमा खर्च गरिने छ । यो शुल्कबाट एमटीएले वार्षिक ९ विलियन डलर संकलन हुने अपेक्षा राखेको छ । यस्तै यो योजनाबाट म्यानहटन शहरमा सवारी जाम कम हुने, ध्वनी तथा अन्य प्रदुशनमा कमी आउने अपेक्षा एमटीएले राखेको छ । एक तथ्याँक अनुसार म्यानहटनमा दैनिक ७ लाख सवारी साधान आवत जावत गर्ने गर्दछ । खराब सवारी चाप हुने शहरको रुपमा म्याहटन विश्वमै एक नम्बरमा पर्दछ । कन्जेसन प्राइसको कार्यान्वयनबाट दैनिक १ लाखसम्म सवारी साधानको संख्यामा कमि आउन सक्ने अपेक्षा एमटीएले गरेको छ ।
टनेल र पुलको टोल पनि वृद्धि
कन्जेशन प्राइसको बोझ थपेका न्यूयोर्कसिटी र न्यूजर्सीका बासिन्दाहरुले जनवरी ५ बाटै टनेल र पुलहरुमा समेत टोल वृद्धिको भार खेप्नु पर्ने भएको छ । न्यूयोर्क सिटीका पुल तथा टनेलको व्यवस्थापन गर्ने एजेन्सी पोर्ट अथोरिटीले न्यूयोर्क सिटी र न्यू जर्सी राज्य जोड्ने पुल तथा टनेलहरुको टोल बृद्धि गर्ने निर्णय गरेको छ । पोर्ट अथोरिटीले न्यूयोर्क सिटी र न्यूजर्सीको बीचमा रहेका जर्ज वाशिंगटन, बेयोन्नी र गोइथाल्स तथा आउटब्रिज क्रसिङ पुलहरुको टोल वृद्धि गर्ने भएको छ भने दुईवटा टनेलहरु लिंकन र होल्यान्ड टनेलको टोल शुल्क पनि समान दरमा वृद्धि गर्ने निर्णय गरेको छ ।
नयाँ टोल दर अनुसार पीक आवरमा साना सवारी साधानका चालकहरूले इजिपास प्रयोग गर्दा १६ डलर ६ सेन्ट तिर्नुपर्नेछ । हुलाक मार्फत तिर्नु परेमा १८ डलर ३१ सेन्ट पर्ने पोर्ट अथोरिटीले आफ्नो वेभसाइटमार्फत जानकारी गराएको छ । यसअघि साना सवारी साधानहरुले इजीपासबाट १५ डलर ३८ सेन्ट थियो । अफ पीक आवरमा भने २ डलर कम रहेको छ । पोर्ट अथोरिटीले सवारी साधानको भार क्षमता हेरेर सबैभन्दा बढी भार क्षमताको सवारीलाई १३० डलरसम्म टोल शुल्क लिने गर्दछ । पोर्ट अथोरिटी अफ न्यू योर्क एण्ड न्यू जर्सीले आफ्नो वेबसाइटमा घोषणा गरे अनुसार नयाँ टोल दरहरू जनवरी ५ बाट लागु हुनेछ ।




प्रतिक्रिया