न्यूयोर्क । पुरानो वर्षलाई विदा गर्दै नयाँ वर्ष २०२५ लाई स्वागत गर्न विश्वभरका मानिसहरु ब्यग्र प्रतिक्षामा छन्। पूर्वीय गोलाद्र्धका देशहरुमा नयाँ वर्ष २०२५ शुरु हुन लागेपनि पश्चिमी गोलाद्र्धका देशहरुमा भने नयाँ वर्ष शुरु हुन झण्डै आधा दिन नै बाँकी हुन्छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्न विश्वभरका मानिसहरुले विभिन्न किसिमका उत्सव नै मनाउने गर्दछन् ।
चीन, जापान, अष्ट्«ेलिया, बेलायत, युरोपेली देशहरु र अमेरिकाका विभिन्न शहरहरुमा ठूलो संख्यामा मानिसहरुको जमघटकावीच राती १२ बजेपछि नयाँवर्षलाई सामुहिक रुपमा स्वागत गर्ने प्रचलन रहेको छ । रातको १२ बजेपछि नयाँ वर्षलाई स्वागत गर्नको लागि “न्यू इयर ईभ”को रुपमा गीत संगीत र आतिशबाजीकासाथ मानिसहरु रमाइलो गर्दछन् । यो आलेख तयार गर्ने बेला सम्ममा चीनका विभिन्न शहरहरु, जापानको टोकिया, अष्टे«लियाको सिड्नी, न्युजिल्याण्ड लगायतका देश तथा शहरहरुमा उत्सवमय वातवरणमा रंगीन आतिशवाजीकावीच नयाँ वर्षलाई स्वागत गरिसकेको छ । यता, अमेरिकाका मुख्य शहरहरु न्यूयोर्क, शिकागो, लासभेगास, सानफ्रान्सिस्को, मियामी, लस एन्जेलस लगायतका शहरहरुमा ठूलो मानिसको जमघटकावीच नयाँवर्षको स्वागतको लागि भव्य तयारीहरु भइरहेका छन् ।

न्यूयोर्कमा झण्डै १० लाख मानिसले अवलोकन गर्ने अनुमानकासाथ म्यानहटन शहरको मुट्टु टाइम्स स्क्वायरमा नयाँ वर्ष स्वागतको तयारी भइरहेको छ । टाइम्स स्क्वायरमा हुने नयाँवर्ष “बल ड्रप” को अवलोकनको लागि संसारभरका मानिसहरुको जमघट हुने गर्दछ । यो वर्ष पनि त्यस्तै भव्य तयारी शुरु भएको छ । लाखौं मानिसहरुको जमघटकावीच हुने उत्सवलाई सुरक्षाका दृष्टिकोणबाट समेत गम्भीर रुपमा लिने गरिन्छ ।
न्यूयोर्क सिटीको प्रहरी विभागले नयाँवर्ष उत्सवलाई ध्यानमा राखेर उच्च सुरक्षाको व्यवस्था गरेको जानकारी गराउदै जिम्मेवारीपूर्वक ढुक्क भएर उत्सवमा सहभागी हुन आग्रह गरेको छ। उत्सवमा सहभागी हुने क्रममा छाता लगायत कुनै पनि सामान नल्याउन समेत प्रहरीको आग्रह छ । विभागका कमिस्नार जेसिका टिसले सुरक्षाको लागि पूर्ण बन्दोबस्ता गरेको जानकारी दिदै सुरक्षामा ढुक्का हुन आग्रह गरेका छन् ।
मध्यपूर्वी युद्धका कारण अमेरिकाका प्रमुख शहरहरुमा हालका दिनमा सुरक्षामा सम्बेदनशील मानिए पनि नयाँ वर्षको उत्सवका क्रममा सुरक्षा खतराको कुनै संकेतहरु नरहेको कमिस्नार टिसले बताएका छन् । तर उनले मध्य पूर्वको जारी युद्धलाई मध्येनजर गरेर सुरक्षा स्तर उच्च गरिएको बताए । “हामी अक्टोबर ७ को आतंकवादी हमलापदेखि एक उच्च खतरा वातावरणमा काम गर्दै आएका छौं र हामी सतर्क छौं,” टिशले डिसेम्बर ३० को पत्रकार सम्मेलनमा भनिन्।
““न्यू इयर ईभ” मा शहरभरि प्रहरीको संख्यामा वृद्धि गरिएको देख्न सक्नेछ, जसमा हाम्रो केही विशेष एकाइका सदस्यहरू पनि समावेश छन्। हाम्रो ड्रोनहरू भीडमाथि निगरानी राख्ने र कुनै शंका या असाधारण गतिविधि हेर्ने काम गर्नेछन्,“ उनले थपिन् ।
प्रहरीले नयाँ वर्ष २०२५ को स्वागतका लागि जानेहरुले ब्याकप्याक, मदिरा, कुर्सीहरू र छातासमेत नल्याउन अनुरोध गरेको छ । प्रहरीले मंगलवार बिहान नैबाट सो क्षेत्रलाई बन्द गरिनेछ र दर्शकहरुलाई सुरक्षा जाँचपछि मात्र प्रवेश गर्न अनुमति दिइनेछ । ३ बजे देखि दर्शकहरूको प्रवेश क्षेत्र खुल्नेछ । उनीहरूलाई प्रवेश बिन्दुमा आतंकवाद नियन्त्रण अधिकारीहरूले स्क्रिनिङ गर्नेछन्।
टाइम्स स्क्वायर क्षेत्रमा सुरक्षा प्रदान गर्ने क्रममा ३९ देखि ५७ स्ट्रिट र फिप्थ एभेन्यूदेखि नाइन्थ एभेन्यूसम्म सवारी निषेधित गरिएको छ । मंगलवार बिहानैबाट सडक बन्द गरिसकेको छ । न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले टाइम्स स्क्वायरमा पुग्ने सबैलाई संदिग्ध गतिविधि देख्दा तुरुन्तै पुलिसलाई जानकारी दिन आग्रह गरेका छन्। “न्यू इयर ईभ” को दिन मौसम समेत अत्यन्तै राम्रो देखिएको छ । क्रिसमसको दिन हिउँ र चिसोले कठ्याङग्रिएका न्यूयोर्कबासीलाई यतिबेला ५० डिग्री फरेनहाइटको तापक्रमले राहत समेत मिलेको छ । तर बेलुका नौ बजेबाट भने सामान्य वर्षा हुने मौसम विभागले जनाएको छ ।




प्रतिक्रिया