न्यूयोर्क । नयाँ वर्ष २०२५को शुरुसंगै सवारी साधान प्रयोग गर्ने न्यूयोर्क सिटीका बासिन्दाहरु र अन्य मानिसहरुले विभिन्न किसिमका शुल्क वृद्धि र नयाँ शुल्कको बोझ झेल्नुपर्ने भएका छन् । न्यूयोर्क सिटीका सवारी व्यवस्थापनसंग सम्बन्धीत विभिन्न एजेन्सीहरुले नयाँ वर्षको शुरुसंगै शुल्क वृद्धि र नयाँ शुल्क निर्धारण सम्बन्धी निर्णयहरु गरेकाले कतिपयमा वर्षको शुरुवाटै र कुनैमा आगमी अगष्टबाट यसप्रकारका शुल्कहरुको बोझ बोक्नु पर्ने भएको हो ।
न्यूयोर्क सिटीमा ट्रेन तथा मेट्रो बसका संचालक एमटीएले नयाँवर्षको शुरुबाटै म्यानहटन शहरको सिक्स्ट्री स्ट्रिट भन्दा तल प्रवेश गर्ने सवारी साधानलाई न्यूनतम ९ डलरको “कन्जेस्सन प्राइस” लागु गर्दैछ भने न्यूयोर्क सिटीका पुल तथा टनेलको व्यवस्थापन गर्ने एजेन्सी पोर्ट अथोरिटीले न्यूयोर्क सिटी र न्यू जर्सी राज्य जोड्ने पुल तथा टनेलहरुको टोल बृद्धि गर्ने निर्णय गरेको छ । यसैगरी एमटीएले नै मेट्रो बस र सबवे ट्रेनको समेत शुल्क बढाउने निर्णय गरेको छ । नयाँवर्ष २०२५ मा न्यू योर्कसिटीका यातयात साधान प्रयोगकर्ताहरुले एकैपटक यति धेरै क्षेत्रमा शुल्क वृद्धिको भार व्यहोर्न बाध्य हुनुपरेको छ ।
पोर्ट अथोरिटीले न्यूयोर्क सिटी र न्यूजर्सीको बीचमा रहेका जर्ज वाशिंगटन, बेयोन्नी र गोइथाल्स तथा आउटब्रिज क्रसिङ पुलहरुको टोल वृद्धि गर्ने भएको छ भने दुईवटा टनेलहरु लिंकन र होल्यान्ड टनेलको टोल शुल्क पनि समान दरमा वृद्धि गर्ने निर्णय गरेको छ । नयाँ टोल दर अनुसार पीक आवरमा साना सवारी साधानका चालकहरूले इजिपास प्रयोग गर्दा १६ डलर ६ सेन्ट तिर्नुपर्नेछ । हुलाक मार्फत तिर्नु परेमा १८ डलर ३१ सेन्ट पर्ने पोर्ट अथोरिटीले आफ्नो वेभसाइटमार्फत जानकारी गराएको छ । यसअघि साना सवारी साधानहरुले इजीपासबाट १५ डलर ३८ सेन्ट थियो । अफ पीक आवरमा भने २ डलर कम रहेको छ । पोर्ट अथोरिटीले सवारी साधानको भार क्षमता हेरेर सबैभन्दा बढी भार क्षमताको सवारीलाई १३० डलरसम्म टोल शुल्क लिने गर्दछ । पोर्ट अथोरिटी अफ न्यू योर्क एण्ड न्यू जर्सीले आफ्नो वेबसाइटमा घोषणा गरे अनुसार नयाँ टोल दरहरू जनवरी ५ बाट लागु हुनेछ ।
यी टोलहरू न्यूयोर्कमा प्रवेश गर्दा संकलन गरिने भएकोले फर्किने बेलामा भने संकलन हुँदैन । पोर्ट अथोरिटीका अनुसार अब पुल र टनेलमा नगद टोल स्वीकारिने छैन । ती सबै इलेक्ट्रोनिक तर्फबाट संकलन गरिने छ । पोर्ट अथोरिटीको बोर्डले नयाँवर्ष सन् २०२५ को लागि ९.४ अर्ब डलरको बजेट समेत अनुमोदन गरेको छ । जस अनगर्तत विमानस्थलहरूको पुनर्निर्माण, म्यानहटन बस टर्मिनलको पुनःमोडेलिङ, जर्ज वाशिंगटन ब्रिजको पुनर्संरचना लगायतका परियोजनाहरू रहेका छन् ।
यता, एमटीए (मेट्रोपोलिटन ट्रान्सपोर्टेशन अथोरिटी)ले म्यानहटन प्रवेशको कन्जेसन प्राइसिङ कार्यक्रमको पनि नयाँ वर्षसंगै शुरुआत गर्दैछ । जसमा म्यानहटनको ६० औं स्ट्रीटभन्दा तल प्रवेश गर्ने हल्का गाडीको लागि ९ डलरको न्यूनतम टोल लिइनेछ । न्यूयोर्कवासी तथा न्यूजर्सीबासीहरुको विरोधकावीच न्यूयोर्क राज्यका गभर्नर क्याथी होकुलले यो नयाँ शुल्क लागु गर्ने अडान राखेका हुन् । गभर्नरको घोषणालाई चुनौति दिदै केही संस्थाहरुले अदालतमा मुद्दा दायर गरेपनि यसपटक भने नयाँ शुल्क लागुगरी छाड्ने दावी गभर्नर होकुलले गरिन् ।
यस योजनाको विरोधमा अदालत गएका एक समूहको मुद्दालाई भने शुक्रबार अदातलले खारेज गरिदिएको छ । जिल्ला न्यायाधीश लुइस लिमानले सो समूहको निवेदन अस्वीकार गरेको श्रोतले जनाएका छन् । ट्रकिङ एशोसिएसन अफ न्यू योर्क, ब्याटरी पार्कका निवासीहरू, र यूनाइटेड फेडरेशन अफ टीचर्स जस्ता युनियन र सामुदायिक संगठनहरूले मुद्दा दर्ता गरेका थिए। कन्जेसन प्राइसिङलाई खारेज गर्ने मागले सार्वजनिक यातयातको विकासको योजनालाई नकारात्मक असर पार्ने र यस कार्यक्रमबाट प्राप्त हुने वातावरणीय र आर्थिक लाभहरूलाई ढिलाइ गर्ने दावी अदालतको निर्णयमा गरिएको छ ।
यातयातको खर्चमा वृद्धि चालकहरूलाई मात्र नभइ न्यूयोर्क सिटीका बासिनदाहरुमा समेत पर्ने भएको छ । २०२५ को अगस्टबाट मेट्रोबस र सबवे ट्रेनको भाडामा समेत वृद्धि हुने भएको छ । एमटीएका अनुसार हरेक दुई वर्षमा ४ प्रतिशत भाडा वृद्धि हुने नियम अनुसार भाडा वृद्धि गर्न लागेको हो । यो प्रावधान अनुसार बस र टे«नको भाडामा १० सेन्ट वृद्धि भई ३ डलर पुग्ने भएको छ । हाल सो भाडा २ डलर ९० सेन्ट रहेको छ ।




प्रतिक्रिया