०८ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 21, 2026
SUBSCRIPTION

हेल्थकेयर सिइओ हत्याको आरोपीलाई फस्र्ट डिग्री अभियोग, हत्याको घटनामा कुनै नायकत्व छैनः पुलिस कमिस्नर

न्यूयोर्कको ग्राण्ड जुरीले योजनाबद्धा हत्याको आरोपमा फस्र्ट डिग्री अभियोग र आतंककारी गतिविधिको आरोपमा सेकेण्ड डिग्री अभियोग लगाउने तयारी भएको म्यानहटनका डिस्ट्रिक्ट अटर्नी एल्भिन ब्रागले मंगलबार जानकारी दिएका हुन् । यसअघि म्यानहटन अदालतमा उनलाई सेकेण्ड डिग्री मर्डरको अभियोग लगाउने तयारी गरेको थियो ।
हेल्थकेयर सिइओ हत्याको आरोपीलाई फस्र्ट डिग्री अभियोग, हत्याको घटनामा कुनै नायकत्व छैनः पुलिस कमिस्नर


न्यूयोर्क । न्यूयोर्कको व्यस्त शहर म्यानहाटनमा भएको हेल्थकेयर सिइओ हत्या घट्नाका आरोपी लुइजी मंगियोनलाई फस्र्ट डिग्री हत्याको अभियोग लगाइने भएको छ । न्यूयोर्कको ग्राण्ड जुरीले योजनाबद्धा हत्याको आरोपमा फस्र्ट डिग्री अभियोग र आतंककारी गतिविधिको आरोपमा सेकेण्ड डिग्री अभियोग लगाउने तयारी भएको म्यानहटनका डिस्ट्रिक्ट अटर्नी एल्भिन ब्रागले मंगलबार जानकारी दिएका हुन् । यसअघि म्यानहटन अदालतमा उनलाई सेकेण्ड डिग्री मर्डरको अभियोग लगाउने तयारी गरेको थियो । फस्र्ट डिग्री हत्या अभियोग पुष्टि भए लुइजीलाई आजीवन काराबासको सजाय हुनेछ । 

अभियुक्त लुइजीलाई आगमी विहीबार न्यूयोर्क ल्याउने तयारी भइरहेको श्रोतले जनाएको छ । न्यूयोर्क सुपुर्दगीका लागि विहीबार नै उनलाई पेन्सिलभेनिया अदालतमा पेश गरिने छ । पेन्सिलभेनिया अदालतमा हुने फैसलाले लुइजीलाई म्यानहटनमा सुपुर्दगी गर्ने फैसला गरिने अपेक्षा छ । डिसेम्बर ४ मा न्यूयोर्कको म्यानहटनमा युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोपमा लुइजी मंगियोनलाई एकसाता पछि पेन्सिलभेनियामा पक्राउ गरेको थियो । 

मिडटाउन हत्या घटनाको बारेमा मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा डिस्ट्रिक्ट अटर्नी ब्रागले प्रहरी अनुसन्धानबाट हेल्थकेयर सिइओ थम्पसनको हत्यालाई “पूर्वनियोजित, लक्षित बन्दूक हिंसा”को रूपमा वर्णन गर्दै यो स्वीकार्य र कहिल्यै सहन नमिल्ने किसिमको भएको बताए । “यो एक कायरतापूर्ण, योजनाबद्ध लक्षित हत्या थियो जुन आतंक र ध्यान आकर्षित गर्नको लागि गरिएको थियो ।” आतंका फैलाउने उद्देश्यले हत्याका घटना घटाएकोले आतंकवादी कार्यको आभियोग समेत रहेको ब्रागले थपे ।

मंगियोनबाट प्रहरीले जफत गरेका लेखाइहरूले उनी युनाइटेड हेल्थकेयरमा महिनौंसम्म ध्यान दिनुमा व्यस्त रहेको र सीईओलाई मार्ने योजना समेत तयार गरेको पुष्टि भएको प्रहरीको दावी छ । लुइजी मंगियोन न्यूयोर्कमा थम्पसनलाई मार्ने उद्देश्यले नोभेम्बरको अन्त्यमा आएर म्यानहटनको अपर वेस्ट साइडको होस्टलमा बसेको अनुसन्धानबाट खुलेको थियो । त्यहाँ उनले न्यूजर्सीको नक्कली परिचयपत्र प्रस्तुत गरेका थिए जुन परिचयपत्र उनलाई डिसेम्बर ९ मा गिरफ्तारीका क्रममा फेला परेको थियो । ४ डिसेम्बरको बिहान एक घण्टाभन्दा बढी समय मंगियोनले हिल्टन होटलको बाहिर थम्पसनको आगमनको पर्खाइमा बिताएको र युनाइटेड हेल्थकेयरका सीईओ थमसन बाहिर निस्के लगतै आफुसंग भएको घोस्टगन (घरेलु बन्दुक) निकालेर गोली चलाएको प्रहरीको आरोप छ । हत्यापछि, मंगियोनले मिडटाउनको पश्चिम ५४ औं स्ट्रीटबाट भागेर नजिकको सेन्ट्रलपार्कमा पुगेर इ–बाइक चढेको दावी प्रहरीको छ । 


हत्याको घटनामा कुनै नायकत्व छैनः पुलिस कमिस्नर

युनाइटेड हेल्थकेयरका सिइओको हत्याको विषयलाई लिएर कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले हत्याको पक्षमा वकालत गरेको भन्दै न्यूयोर्कसिटी प्रहरीका कमिस्नारले आक्रोस ब्यक्त गरेका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा कमिस्नार जेसिका टिशले यो हत्या कुनै बहादुरी नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 
पुलिस आयुक्त जेसिका टिशले ग्राण्डजुरीको अभियोगले थम्पसनको परिवारका लागि न्याय प्राप्त गर्न र कानूनी शासनको पालना गर्न एक कदम नजिक पुर्याएको बताए । उनले शहरका कतिपय मानिस र सोसल मिडिया प्रयोग गर्ने व्यक्तिहरूको आलोचना गर्दै हत्या गरेको घटनालाई सेलिब्रेन नगर्न चेतावनी दिए । हत्या गरेका मंगियोनलाई एक नायकको रूपमा प्रस्तुत गरेको भन्दै उनले असन्तुष्ट प्रकट गरे । 
“ब्रायन थम्पसनको हत्या भएको लगभग दुई हप्तापछि, हामीले क्रूर हत्याको शोकजनक र भयावह उत्सव देखेका छौं । सोसल मिडियामा यो घटनाप्रति प्रशंसा प्रकट गरिएको छ,” टिशले भनिन्। ” हत्याको घटनामा कुनै नायकत्व छैन । यो एक निरर्थक हिंसात्मक कार्य हो, उनले भनिन । 

यता सामाजिक संजान प्रयोगकर्ताहरुले भने अनलाइनमार्फत आरोपित लुइजी मंगियोनलाई सम्मान गरेका छन् र केहि मानिसहरूले त उनको बचाउ कोषमा दान समेत गरेका छन् ।

 

प्रतिक्रिया