
न्यूयोर्क । शुरुमा आँकलन गरे जस्तो विनाशकारी नदेखिए पनि मिल्टन आँधीबेहरीले फ्लोरिडाको पूर्वीतटीय क्षेत्रमा सात जनाको ज्यान लिएको छ । सो क्षेत्रका अधिकाँश भौतिक संरचना जलमग्न भएका छन् । आँधीका क्रममा आएका चक्रवातले ती मानिसहरुको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेमा सबैजसो पूर्वी तटीय क्षेत्रका मानिस रहेका छन् । मृतक मध्ये पाँच जना सेन्ट लुसी काउन्टीको भएको बताइएको छ ।
नेश्नल हुरिक्यान सेन्टर र मौसम विभागले १५५ माइल प्रतिघण्टाको तिब्र बेगमा आँधी आउने प्रक्षेपण गरेपनि १२० माइल सम्मको आँधी आएको जनाएको छ । हिजो साँझ टाम्पा खाडी क्षेत्रमा प्रवेश गरेको आँधी आज बेलुकासम्ममा फ्लोरिडाको पश्चिम तटीय क्षेत्रबाट बाहिरिने आँकलन गरिएको छ । आँधीको बेगभने विस्तरै कम हुँदै गइरहेको जनाइएको छ ।
आँधीका कारण अधिकाँश भवनहरुको छाना उडाएको छ भने लाखौं मानिसहरुका घरमा विद्युत आपूर्ती बन्द भएको छ । राजमार्गहरु जलमग्न हुँदा सवारीसाधानहरु ठाउँ ठाउँमा अड्किएका छन् ।
मिल्टनलाई अमेरिकी मौसम अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेपनि चौथो श्रेणीको देखिएको छ । प्रतिघण्टा १५५ माइलको वेगमा आउने अनुमान गरिएसंगै ठूलो जनधनको क्षेति हुने प्रक्षेपण गरेपछि सो क्षेत्रका झण्डै २ दर्जन काउन्टीबाट करिब ५५ लाख स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए । आँधीले पश्चिम तटीय सहरहरु ट्याम्पा र सारासोटामा बढी क्षेति पुर्याएको छ ।
ह्वाइट हाउसमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रमा उद्धारका लागि एक हजार उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ । प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु सक्रिय भएर लागि रहेको पनि जनाएको छ।
प्रतिक्रिया