न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिणी क्षेत्रमा आउने लागेको मिल्टन नामको शक्तिशाली आँधी ट्याम्पा बे नजिक आइपुगेको छ । अहिले सो क्षेत्रमा सामान्य हुरी र वर्षा शुरु भएको छ । ठूलो विनाशकारी आँधीको रुपमा लिइएको सो आँधीबाट बचाउन लाखौं मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ । यो आँधी तुफान फ्लोरिडा राज्यमा २० वर्ष यताको सबैभन्दा ठूलो भएको अमेरिकाको हुरिक्यान केन्द्रले जनाएको छ । शक्तिशाली आँधी आजैबाट फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रमा प्रवेश गर्नेछ ।
मिल्टनलाई अमेरिकी मौसम अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । आँधी तुफानका कारण १८ इन्चसम्म वर्षाहुन सक्ने र पानीको सतह १५ फिटसम्म माथि उठ्न सक्ने अमेरिकन हुरिक्यान सेन्टरले जनाएको छ । यसैगरी आँधीको क्रममा हावाको गति प्रतिघण्टा १५५ माइल हुने अनुमान गरिएको छ । आँधी ट्याम्पा र सारासोटाबाट प्रवेश भई पूर्वीतटीय क्षेत्र ओर्लाण्डो, फोर्डपियर्स हुँदै बाहिरिने छ ।
दक्षिणी तटीय सहर मियामीमा भने सामान्य असर मात्र पर्नेछ । आँधीको सबैभन्दा बढी प्रभाव पर्ने क्षेत्र फ्लोरिडाको दक्षिणी तटीय क्षेत्रमा आपतकालीन अवस्था आउन सक्ने भन्दै तीनदिन देखिनै करिब २ दर्जन काउन्टीहरुबाट स्थानीय बासिन्दालाई सुरक्षित स्थलतर्फ लगिएको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५ सय उडानहरु रद्द भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । आँधी तुफान ल्फोरिडाको दक्षिणी भेगमा पश्चिमदेखि पूर्वी तटिय क्षेत्रसम्मै प्रभावित तुल्याउने जनाइएको छ ।
राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’
नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । यो आँधी आज बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा बाढी, पहिरो र डुबानकासाथै अत्यधिक गतिमा चल्ने हावाले अकल्पनीय विनाश गर्ने अनुमान गरिएको छ । यो आँधीले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ ।
यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ । अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका हुरिक्यान विज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै आएको हेलेन आँधीले नर्थ क्यारिलोना लगायतका क्षेत्रमा २ सयभन्दा बढीको ज्यान लिएको थियो ।
Photos/Images: National Hurrucane Center
प्रतिक्रिया