न्यू योर्क। अमेरिकी सुरक्षा निकायले सेक्युरिटी क्लियरेन्स नदिएपछि नेपालका प्रधानमन्त्री केपी ओलीले नेपाली समुदायलाई सम्बोधन गर्न तय गरिएको कार्यक्रम रद्ध गरिएको छ। नेपाली महावाण्ज्यि दुतावासले भने सम्बन्धित सुरक्षा निकायको सल्लाहलाई मध्यनजर गर्दै कार्यक्रम स्थगन गरिएको जनाएको छ। कार्यक्रम कहिले सम्म स्थगन गरिएको भन्ने चाहिँ दुतावासले खुलाएको छैन।
आयोजकले ओलीको सम्बोधन सुन्न क्वीन्सस्थित गुल्शन टेरासमा भेला भएका अमेरिकी नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम रद्ध गर्नु परेकोमा माफी मागेका छन्। प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण लामिछानेले सुरक्षाका कारण कार्यक्रम रद्ध गर्नु परेको जानकारी दिए।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सुरक्षाका कारण जनाउँदै नेपालका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रद्ध भएको जानकारी दिए। 'आयोजकको हिसावले म माफी माग्छु,' गुल्शन टेरासमा भेला भएका नेपाली समुदायलाई सम्बोधन गर्दै उनले भने 'यहाँसम्म आइदिनु भएकोमा धन्यवाद।' ओलीसँगै नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम थियो।
एक प्रत्यक्षदर्शीका अनुसार ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थल गुल्शन टेरासमा दिउँसो करिब एक बजे तीन सुरक्षा अधिकारीले निरिक्षण गरेको थियो। यसअघि तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि गुल्शन टेरासबाट सन्निसाइडस्थित एउटा चर्चमा सारिएको थियो। यससम्बन्धमा महाबाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशिलताबारे सम्बन्धित निकायको सुझावलाई ध्यानमा राखी कार्यक्रम स्थगित गरिएको जनाएको छ । कार्यकम्र स्थगित भएकोमा महावाणिज्यदूतावासले आयोजकको तर्फबाट दुख व्यक्त गरेको छ ।
एनवाइसीनेपालन्युजसँगको कुराकानीमा नेपालका कुटनीतिक अधिकारीहरुले अमेरिकी सुरक्षा निकायले प्रधानमन्त्री ओलीको भ्रमण र कार्यक्रम एकदमै टाइट गरेको उल्लेख गरेका थिए। कार्यक्रममा सहभागी हुन न्यूजर्सी, कनेक्टिकट, पेन्सिलभानिया, टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड लगायत राज्यबाट नेपालीहरु न्यू योर्क आएका थिए ।
साथै, अमेरिकामा बसोबास गरिरहेका एउटा नेपाली समुहले नेपालका प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको विरोधमा प्रदर्शन गर्ने तयारि गरेको सूचना पुगेकाले पनि कार्यक्रम रद्ध गरिएको आशंका छ। आयोजकहरुले संभावित विरोध प्रदर्शनबारे सोधिखोजी गरेका थिए। सामाजिक सञ्जालमा विरोध प्रदर्शनबारे छलफल समेत चेलेको थियो।
आयोजकले कार्यक्रम रद्ध भएको सूचना बेलैमा नदिएको भन्दै सहभागीहरु रिसाएका छन्। नेपाली महावाण्ज्यि दुतावासले कार्यक्रम साँझ ५ः३० मा हुने सूचना जारी गरेको थियो। कार्यक्रम रद्ध भएको सूचना चाहिँ नेपाली समुदाय कार्यक्रमस्थलमा भेलाको भएको करिब एक घण्टा पछि दिइएको थियो।
कार्यक्रम महावाण्ज्यि दुतावासको अगुवाइमा न्यू योर्क सिटीको क्वीन्स स्थित गुल्सन टेरासमा साँझ साढे पाँच बजे हुने तय भएको थियो। कार्यक्रमका अन्य आयोजकमा नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, मधेशी एसोसियसन इन अमेरिका र गैर–आवासीय नेपाली संघ, न्यू योर्क च्याप्टर थिए।




प्रतिक्रिया