२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

आईस विवादले फेरि सरकार बन्द

आईस विवादले फेरि सरकार बन्द

वाशिङ्टन। इमिग्रेसन एन्ड कस्टम्स एनफोर्समेन्ट (आईस) को अपरेसन र त्यसलाई हेर्ने डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस)को ‘फन्डिङ’मा सहमति नजुट्दा फेरि “गभर्मेन्ट शटडाउन” सुरु भएको छ। यो आंशिक सरकार बन्द हो। 

शटडाउन जनवरी ३१, २०२६ शनिबार बिहान १२:०१ बाट लागू भएको हो। यस पटकको मुख्य विवाद डीएचएस अन्तर्गतको आईसको रणनीतिमाथि उठेको हो। मिनियापोलिस मा इमिग्रेसन एजेन्टको कारबाहीसँग जोडिएका घटनापछि डेमोक्र्याटहरूले कडा “जवाफ़देहिता” को माग अघि सारेका छन्। उनीहरूले एजेन्टलाई बडी क्यामेरा, स्पष्ट आइडेन्टिफिकेसन, रोभिङ पेट्रोल रोक्ने, र घर छिर्न जजबाट सर्च वारेन्ट अनिवार्य गर्ने जस्ता माग राखेका छन्। केही मागमा रिपब्लिकन पक्ष “खुला” भए पनि सबैमा सहमति बनेको छैन। 

बजेट प्रक्रिया यसरी चल्छ। अमेरिकामा आर्थिक वर्ष अक्टोबर १ बाट सुरु हुन्छ। प्रत्येक डिपार्टमेन्ट/एजेन्सी चलाउन कंग्रेसले एप्रोप्रियेशन्स बिल (बजेट) पास गरेर रकम छुट्याउनुपर्छ। ती बिल समयमै पास हुन नसके सरकार बन्द नहोस् भनेर कन्टिन्युइङ रेजोलुसन (सीआर) ल्याइन्छ। सीआर भनेको “अस्थायी खर्च” ब्याबस्थापन हो। सीआरको म्याद सकिएपछि फेरि नयाँ फन्डिङ कानून (बजेट) चाहिन्छ। नयाँ कानून नभए खर्च अभाव भएर शटडाउन प्रक्रिया सुरु हुन्छ। 

गत वर्षको “शटडाउन” (अक्टोबर–नोभेम्बर २०२५) अन्त्य गर्दा कंग्रेसले सीआर पास गरेको थियो। त्यो कानूनमा दुई किसिमको व्यवस्था थियो। एग्रिकल्चर–एफडीए, लेजिस्लेटिभ ब्रान्च, र मिलिटरी कन्स्ट्रक्सन–भिए का लागि भने आर्थिक वर्ष २०२६ अन्त्यसम्मको पूर्ण बजेट राखिएको थियो। बाँकी धेरै एजेन्सी/डिपार्टमेन्टका लागि भने सीआर राखेर जनवरी ३०, २०२६ सम्मका लागि मात्र खर्छ ब्यबस्थापन गरिएको थियो।

सीआरको म्याद जनवरी ३०, २०२६ मा सकिएपछि नयाँ खर्च विधेयक आवश्यक भयो। तर यसपटक बहसको केन्द्र डीएचएस बन्यो। सेनेटमा बनेको पछिल्लो खर्च विधेयकले डीएचएसलाई दुई हप्ते सीआर दिने, र बाँकी निकायका लागि पुरै वर्षको फन्डिङ प्याकेज अघि बढाउने योजना बनायो। उद्देश्य थियो—इमिग्रेसन एनफोर्समेन्टका नियम/सीमा (आईस लगायत) मा सहमति खोज्दा अरू सरकार सञ्चालन नरोकियोस्। 

युएस सेनेटले त्यो खर्च प्याकेज ७१–२९ मतले पास गर्‍यो। तर युएस हाउस अफ रिप्रेझेन्टेटिभ्स डेडलाइनअघि छुट्टिमा भएकाले समयमै विधेयक पारित भएन। त्यसैले शनिबार बिहानबाट आंशिक सरकार बन्द (शटडाउन) सुरु भयो। 

हाउस स्पिकर माइक जोनसन ले भोट प्रक्रिया अघि बढेमा मंगलबारसम्म सरकारी फन्डिङ पुनः सुरु गर्ने प्रयास भएको बताएका छन्। तर डेमोक्र्याट पक्ष, विशेष गरी हाउस माइनोरिटी लिडर हकीम जेफ्रीज नेतृत्वको ककसले डीएचएस–आईस सम्बन्धी सुधारमा सहमति बिना प्रक्रियामा सहयोग गर्न नचाहेको संकेत दिएको छ। 

यो शटडाउन आंशिक भएको कारण सबै सेवा बन्द हुने छैनन्। “अत्यावश्यक” मानिएका धेरै काम निरन्तर चल्छन्। तर फन्डिङ नआउँदा केही कार्यालय बन्द हुन सक्छन्। केही कर्मचारी बेतलवी छट्टिमा पठाइएने छन्। केहीले भने तलब नआए पनि काम गर्नुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया