सामाजिक संजाल बन्दको विरोधमा नेपालका विभिन्न जिल्लामा भएको जेन–जी अर्थात किशोर युवाहरुको आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ । २ सय बढी घाइते भएका छन् । प्रदर्शनकारीहरुले काठमाडौमा बानेश्वरस्थित संघीय संसद भवन कब्जा गर्न पुगेपछि प्रदर्शनकारी माथि प्रहरीले गोली चलाएको थियो । जेनजीको प्रदर्शन काठमाडौ लगायत देशका मुख्य शहरहरुमा भएको थियो । ती प्रदर्शनहरुमा पनि इटहरी लगायतका कतिपय शहरहरुमा तनाबग्रस्त बनेका छन् । स्थिति अनियन्त्रित बन्दै गएपछि काठमाडौ लगायत पोखरा, इटहरी, चितवन लगायतका शहरहरुमा पनि कर्फ्यु लगाएको छ ।
जेनजी प्रदर्शनकारीहरुले माइतीघरमा शान्तिपूर्ण रुपमा आन्दोलन हुने भनिएपनि माइतीघर र तीनकुुनेतर्फबाट नयाँ बानेश्वरस्तिथ संसद भवनमा प्रवेश गर्न खोजेपछि झडप भएको थियो । कतिपय प्रदर्शनकारीहरु संसद भवनको पर्खाल तोडेर भित्र प्रवेश गरेका थिए भने कतिपयले संसदभवनको मूलगेटबाटै प्रवेश गरेका थिए । सो क्रममा प्रहरीले अत्याधिक बल प्रयोग गरेको बताइएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा सयौंलाई गोली लागेको छ । हालसम्म १७ जनाको मृत्यु भएको प्रहरीको श्रोत खुलाउदै विभिन्न संचार माध्यमहरुले जनाएका छन् । मृत्यु भएकामध्ये इटहरीमा १ जना छन् भने अन्य सबै काठमाडौमा हुन् । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको बताइएको छ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ’जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
‘जेन–जी मुभमेन्ट’ ले भने आफुहरुको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू घुसपैठ गरेको दाबी गरेको छ। बानेश्वर क्षेत्रमा हिंसा र तोडफोड जारी रहँदा आन्दोलनका आह्वानकर्ता तथा प्रत्यक्षदर्शीहरूले बाहिरिया घुसपैठ भएको बताएका छन्।
सरकारको अत्यधिक बल प्रयोग र घुसपैठका कारण आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु र घाइतेको संख्या बढेको छ। जेन–जी अभियन्ता आजका लागि सडकबाट फर्किसक्दा पनि बानेश्वरको सडकमा भने हिंसा जारी देखिन्छ ।
शान्तिपूर्ण आवाजलाई तोडफोड र संसद् भवनतर्फ जबर्जस्ती प्रवेशको प्रयासले आन्दोलन प्रभावित बनाएको विज्ञप्तिमार्फत ‘जेन–जी मुभमेन्ट’ ले भनेको छ । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो,’ जेन–जीको विज्ञप्तिमा भनिएको छ । ‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको तथा आन्दोलन शान्तिपूर्ण गर्ने तयारी रहेको भनिरहँदा आखिर कसले मचायो त हिंसा ? संसद् भवनभित्रै प्रवेशको प्रयास कुन समूहले ग¥यो ?जेन जी आन्दोलनले आफूलाई कुनै पनि राजनीतिक दलबाट अलग्गै रहन दिन आह्वान गरिरहँदा पनि दुर्गा प्रसाईंदेखि रास्वपासम्मले जस लिन होडबाजी गरेका थिए ।
जेन–जीको मुभमेन्टलाई माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शनको स्थान प्रशासनले तोकेको थियो । जेन जीहरू बिहान १० बाट माइतीघरमा जम्मा भएर बानेश्वरतिर लागेका थिए । बानेश्वरमा निषेधित क्षेत्रभित्र प्रवेश गर्ने तथा आन्दोलनका लागि पूर्व निर्धारित गरिएको भन्दा फरक तीनकुने क्षेत्रबाट प्रदर्शनकारीहरू संसद् भवनतर्फ प्रवेश गरेका थिए । तर यी दुई समूहलाई रणनीतिक रूपमा व्यवस्थापन गर्न गृह प्रशासन पूर्णतः असफल भएको थियो ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा बिहान शान्तिपूर्ण ढंगले अझ प्रहरीलाई फूल दिएर सुरु भएको आन्दोलन घुसपैठले हिंसात्मक बन्न पुगेको जेनजीले जनाएको छ । त्यही बहानामा सरकार असंवेदनशील भएर सरकारले अत्यधिक बल प्रयोग गर्दा युवाहरूको ज्यान गएको छ । आन्दोलनका आह्वानकर्ता तथा प्रत्यक्षदर्शीहरूले पनि बाहिरिया घुसपैठ भएको बताइरहेका छन् । आन्दोलनमा मृत्यु हुने र घाइतेहरुको संख्या थपिँदै गएको छ । प्रहरीको सेन्ट्री पोस्टदेखि यातायात विभाग अघि थोपारिएको खानेपानी पाइप मात्रै नभएर बानेश्वरको सशस्त्र प्रहरीको एम्बुलेन्समा समेत आगलागी गरिएको छ ।





प्रतिक्रिया