२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ८ सयबढीको मृत्यु

६ म्याग्निच्युडको भूकम्पका कारण दुर्गम हिमाली क्षेत्रमा सयौं बस्तीहरु तहस नहस भएका छन् । अधिकारीहरूले सयौँ मानिसको मृत्यु भएको पुष्टि गरेका छन् भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएको छ ।
अफगानिस्तानमा शक्तिशाली भूकम्प, ८ सयबढीको मृत्यु

अफ्गनिस्तान । अफगानिस्तानको पूर्वी नंगरहार प्रान्तमा आइतबार राति आएको भुकम्पबाट मृत्यु हुनेको संख्या ८ सय नागेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ६ म्याग्निच्युडको भूकम्पका कारण दुर्गम हिमाली क्षेत्रमा सयौं बस्तीहरु तहस नहस भएका छन् । अधिकारीहरूले सयौँ मानिसको मृत्यु भएको पुष्टि गरेका छन् भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएको छ ।
स्थानीय समय अनुसार राति २३ः४७ मा गएको भूकम्पको केन्द्रबिन्दु जलालाबाद शहरदेखि २७ किमि टाढा रहेको र यसको गहिराइ ८ किमि मात्र रहेको जनाइएको छ। राजधानी काबुलसहित पाकिस्तानमा पनि कम्पन महसुस गरिएको थियो।
तालिबानको गृह मन्त्रालयका अनुसार हालसम्म ८०० भन्दा बढी मानिसको मृत्यु भएको छ। नंगरहार र कुनार प्रान्तका दुर्गम क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ। सडक अवरुद्ध भएपछि उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। सयौँ घर भत्किएका छन् भने चावकी र नुरगल क्षेत्रका गाउँ आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन्।
भूकम्प गएको क्षेत्र पहाडी र दुर्गम भएकाले उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सयौँ घर नष्ट भएको आशंका गरेको छ भने वल्र्ड भिजनले गाउँका माटो र काठका घर भत्किएर मानिस मलबामुनि फसेको जनाएको छ।
भूकम्प अघि आएको भीषण बाढीले पाँच जनाको ज्यान लिएको थियो। प्रभावित क्षेत्रका धेरै मानिस हालै इरान र पाकिस्तानबाट फर्किएका शरणार्थी रहेको जनाइएको छ।
तालिबान सरकारलाई सहयोगका लागि अन्तर्राष्ट्रिय संस्थाहरूले सम्पर्क गरिरहेका छन्। तर, तालिबान सत्तामा आएपछि वैदेशिक सहयोग र सञ्चारमा कमी भएकाले तथ्याङ्क संकलनमा ढिलाइ भइरहेको छ।
यसैबीच, सहायता संस्थाहरूले तालिबानले लगाएका प्रतिबन्धका कारण महिला र बालिकाले उद्धार र स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेको चेतावनी दिएका छन्। काबुलस्थित अधिकारीहरूले मृतक र घाइतेको आधिकारिक संख्या अझै निर्धारण हुन बाँकी रहेको र क्षतिको वास्तविक विवरण विस्तारै सार्वजनिक हुँदै जाने जनाएका छन्।

 

प्रतिक्रिया