न्यूयोर्क । न्यूयोर्कको ब्रुकलिनस्थित एक रेस्टुरेन्टमा आज सबेरै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ३ः३० बजेतिर फ्र्याङ्कलिन एभेन्यु, क्राउन हाइट्सस्थित टेस्ट अफ द सिटी” नामक रेस्टुरेन्टमा एक व्यक्तिले अन्दाधुन्दा गोली चलाउदा उक्त घटना भएको हो । ९११ मा आएको थुप्रै फोन कलहरूमा मानिसहरूले अनेकौं बन्दुकधारीहरू भित्र पसेर गोली चलाउन थालेको बताएका र त्यस लगत प्रहरी टोली घटनास्थल पुग्दा निकै भयावह अवस्था देखिएको न्यूयोर्क सिटीका प्रहरी आयुक्त जेसिका टिसले बताए । त्यहाँ गोली लागेका पीडितहरूमा २७ वर्षदेखि ६१ वर्ष उमेरसम्मका आठ जना पुरुष र तीन जना महिलाको पहिचान गरिएको आयुक्त टिसले बिहान आयोजित पत्रकार सम्मेलनमा बताइन्। अन्य एकजना घाइते भने घटनास्थलको केही पर भेटिएका थिए ।
“तीन जना पुरुषलाई मृत घोषणा गरिएको छ, जसमा २७ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र उमेर नखुलेको अर्को पुरुष सामेल छन्।” प्रहरी आयुक्त टीसले भनिन् । प्रहरीका अनुसार नौ जना घाइतेहरू विभिन्न अस्पतालमा भर्ना छन्, उनीहरू सबैको अवस्था स्थिर छ र निको हुने अपेक्षा गरिएको छ।

प्रहरीले घटनास्थलमा कम्तीमा ३६ वटा गोलीको खोका फेला पारेको छ। साथै, बेडफोर्ड एवेन्यु र ईस्टर्न पार्कवे नजिकै एउटा हतियार पनि बरामद गरिएको बताइएको छ । तर उक्त हतियार यही घटनामा प्रयोग भएको वा नभएको बारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, भीडभाड भएको लाउञ्ज भित्र विवाद भएको र त्यसकै कारण गोली चल्न पुगेको हुनसक्ने अनुमान गरिएको छ।
३९ वर्षका एक प्रत्यक्षदर्शीका अनुसार एक नियमित ग्राहकलाई गोली लागेको देखेको र ऊ कुनै विवाद नगरेको अवस्थामा गोलीको शिकार भएको देखिन्थ्यो । केवल हुक्का सेवन गर्दै बाथरुम नजिकै बसेको थियो। तर त्यहीँ उसलाई गोली लागेर ढलेको देखें।” उनले भने ।
लाउञ्ज नजिकै बस्ने छिमेकीहरुले सो रेष्टुरेन्टमा दिनहु जसो झगडा र विवाद भइरहन्छ । युवाहरूको भीड हुने र बारम्बार कराउने र कुटाकुट गर्ने गरेको उनीहरुको गुनासो छ । प्रायः हरेक रात यहाँ झगडा हुन्छ । चर्को स्वरमा कराउने, गाली गर्ने, झगडामा उत्रिने दृश्य सामान्य जस्तै बनेको छ। हामीलाई निदाउनै गाह्रो हुन्छ।” एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताएको संचार माध्यमहरुले जनाएका छन् ।
प्रहरी आयुक्त टिसले यो वर्षको पहिलो सात महिनामा न्यूयोर्क शहरमा गोली काण्डा र पीडितहरूको संख्या ऐतिहासिक रूपमा न्यून भए पनि आज बिहान भएको यो घटना दुर्भाग्यपूर्ण छ र असामान्य रहेको बताए । घटनामा संलग्नको तिब्र रुपमा खोजी भइरहेको उनले बताए ।



प्रतिक्रिया