न्यू योर्क। अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता कुनै औपचारिक सम्झौता बिना समाप्त भएको छ। वार्तामा ट्रम्पले अपेक्षा गरेको तुरुन्त युद्धविरामको सहमति भएन।
ट्रम्पले वार्तापछि “युद्धविराम भन्दा सिधै शान्ति सम्झौतामा जाऊँ” भन्ने धारणा सार्वजनिक गरेका छन्। उनको भनाई रुसको चाहनासँग मिल्ने टिप्पणी गरिएको छ। ट्रम्पको अभिव्यक्तिप्रति युक्रेन र प्रमुख युरोपेली साझेदारहरूले असन्तुष्टि जनाएका छन्।
वार्तामा कुनै सर्तमा सहमति बनेन। सञ्चारमाध्यमहरूका अनुसार पुटिनले डोनेट्स्क क्षेत्रमा नियन्त्रणको माग दोहोर्याएका थिए। उक्त माग युक्रेनले अस्वीकार गरेको थियो। परिणामतः युद्धविराम टुङ्गिएन।
वार्ताको सकारात्मक पक्ष भनेको अमेरिका–रुस प्रत्यक्ष संवाद पुनः सुरु हुनु मात्र भएको विश्लेषकहरूको भनाइ छ। ट्रम्पले थप कूटनीतिक संवादको सङ्केत दिएका छन्। उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीलाई आगामी हप्ताको वाशिङ्टन भेटका लागि बोलाउने बताएका छन्। ट्रम्पका अनुसार जेलिन्स्कीको सहभागिता बिना कुनै सम्झौता अघि बढ्दैन।
युरोपेली नेताहरूले जेलिन्स्कीको वाशिङ्टन भ्रमणलाई स्वागत गर्दै युक्रेनको सार्वभौमसत्ताप्रतिको समर्थन रहेको दोहोर्याएका छन्।





प्रतिक्रिया