२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

होम डिपोमा आइसको छापाः भाग्न खोज्दा ज्यान गयो

होम डिपोमा आइसको छापाः भाग्न खोज्दा ज्यान गयो

क्यालिफोर्निया। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) को छापाबाट जोगिन भाग्दा एक जनाको ज्यान गएको छ। मन्रोभियास्थित होम डिपोमा आइसले हानेको छापाबाट भाग्दा बिहीबार परिचय नखुलेका ती व्यक्तिको ज्यान गएको हो।

आइसले बिहीबार बिहान डाउनटाउन लस एन्जेलसदेखि करिब २० माइल उत्तर–पूर्व मोन्रोभियास्थित होम डिपोमा छापा हानेको थियो। छापाबाट उम्केर ती मानिस भाग्दै पूर्वतर्फ २१० फ्रीवेमा प्रवेश गरेका थिए। त्यहाँ उनलाई एउटा सवारी साधनले ठक्कर दिएको थियो। उक्त ठक्करबाट उनको ज्यान गएको मोन्रोभिया सिटी मेनेजर डिलन फाइकले जानकारी दिएका थिए।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)आईसका अनुसार उक्त व्यक्तिलाई भाग्दा कुनै पनि सुरक्षाकर्मीले पछ्याइरहेका थिएनन्। साथै उनको कानुनी हैसियत समेत अज्ञात छ। आईसले होम डिपोमा भइरहेको अपरेशन सकिएको घण्टौँ पछि मात्रै फ्रीवे मा भएको उक्त घटनाबारे क्यालिफोर्निया हाइवे पेट्रोलबाट थाहा पाएको दाबी गरेको छ।

क्यालिफोर्निया स्टेट एसेम्ब्ली मेम्बर जोन हराबेडियनका अनुसार उक्त छापामा कम्तीमा १० जना पक्राउ परेका छन्। उनले घटनालाई “डरलाग्दो र अराजक” भन्दै यस्ता छापाले “सुरक्षा भन्दा त्रास फैलाउने र ज्यानसमेत जोखिममा पार्ने” टिप्पणी गरेका छन्।

होम डिपोले छापाबारे आईसले पूर्व सूचना नदिएको र छापामा आफ्नो संलग्नता नरहेको जनाएको छ। घटनाबारे क्यालिफोर्निया हाइवे पेट्रोलले घटनाको अनुसन्धान गरिरहेको छ।

नेशनल डे लेबरर अर्गनाइजिङ नेटवर्कले मृतकको परिवार पहिचान गर्न र घटना देखेका तथा प्रभावित कामदारहरूलाई सहयोग गर्न पहल गरिरहेको जनाएको छ। ट्रम्प प्रशासनले आप्रवासी निर्वासन अभियान तीव्र बनाएसँगै होम डिपोजस्ता कागजात नभएका ज्यालादारी मजदुरहरू काम खोज्न भेला हुने स्थलमा छापा मार्ने क्रम तीब्र बनाएको छ। 

प्रतिक्रिया