न्यू योर्क। अमेरिकाको संघिय अदालतले नेपालको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेजी नोभेम्बर १८ सम्मका लागि रोकि दिएको छ । टिपिएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध नेश्नल टिपिएस एलायन्सको अगुवाईमा क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको पहिलो सुनुवाई जुलाई २९ मा भएको थियो ।
अमेरिका जिल्ला अदालतका न्यायधिस ट्रिना एल. थोम्प्सनले पहिलो सुनुवाईको निर्णय आज सुनाउँदै नेपाल, होन्डुरस र निकारागुवाको टिपिएस नोभेम्बर १८ सम्म खारेजी नहुने उल्लेख गरेको छ । अमेरिका जिल्ला अदालतका न्यायधिस ट्रिना एल. थोम्प्सनले टिपिएसको म्याद खारेजी नोभेम्बर १८ सम्मको लागि रोकिने निर्णय सुनाएको हो ।
न्यायधिस थोम्प्सनले मुद्धाको प्रकृया टुंगो नलागेसम्म, अर्को सुनुवाई नभएसम्मका लागि टिपिएस संरक्षण हुने निर्णय सुनाएको हो । नोभेम्बर १८ मा हुने सुनुवाइले टिपिएस खारेजी हुने वा टिपिएस एक्स्टेन्सन हुने भन्ने निर्णय हुने छ । न्यायधिस थोम्प्सनले आप्रवासीहरुको अवस्था संरक्षण विना, देशको अवस्था राम्रोसँग समीक्षा नगरीकन ट्रम्प प्रशासनले टिपिएस अन्त्य गर्ने निर्णय गरेको उल्लेख गर्दै नोभेम्बर १८ सम्म टिपिएसको खारेजी नहुने उल्लेख गरेकी छन् ।

नेश्नल टिपिएस एलायन्सको अगुवाईमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोेटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि संयुक्त रुपमा जुलाई ७ तारिखमा मुद्धा दायर गरेको थियो । जुलाई २९ मा भएको बहसमा नेश्नल टिपिएस एलायन्सको तर्फबाट वकिलहरु अहिलान अरुलानान्थम र जेशिका वंशलले बहस गरेका थिए । नेपालको साँढे ७ हजार नेपालीसहित होन्डुरसको ५१ हजार र निकारागुवाको ३ हजार मानिस टिपिएसमा रहेका छन् ।
नेपालको तर्फबाट युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन) का सन्ध्या लामासहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोेटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि नेश्नल टिपिएस एलायन्सले ट्रम्प प्रशासनविरुद्ध मुद्धा दायर गरेको थियो । सन्ध्या लामा ३ बालकालिका एकल आमा हुन् ।युटिपिएसएनका संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीले अदालतको निर्णयको स्वागत गर्दै नेश्नल टिपिएस एलायन्स, वादीहरु र सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरे।







प्रतिक्रिया