२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

जापानलाई ३५ प्रतिशत महशुल लगाउने ट्रम्पको चेतावनी

जापानलाई ३५ प्रतिशत महशुल लगाउने ट्रम्पको चेतावनी

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने जापानी उत्पादनमा ३५ प्रतिशत सम्म महशुल लगाउने चेतावनी दिएका छन्। उनले अमेरिका र जापान सम्झौतामा पुग्न नसके ३० प्रतिशत वा ३५ प्रतिशत कर लगाउने चेतावनी दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले कथित ‘लिबरेसन डे’ का नाममा गत अप्रिल २ मा अन्य राष्ट्रहरू सँगै जापानमाथि २४ प्रतिशत कर लगाएका थिए। त्यसपछि उनले वार्ताका माध्यमबाट सम्झौता गर्न भन्दै ९० दिनको अवधि दिएर जापानसहित विभिन्न देशमाथि लगाइएको महशुल १० प्रतिशतमा झारेका थिए। सो अवधि जुलाई ९ मा सकिँदैछ। त्यही सन्दर्भमा राष्ट्रपति ट्रम्पको चेतावनी आएको हो।

बीबीसीका अनुसार ट्रम्प जापानसँग सम्झौता हुनेमा त्यति विश्वस्त छैनन्। साथै, उनले सम्झौताका लागि अवधि नथप्ने पनि प्रष्ट पारेका छन्। यस सम्बन्धमा जापानले प्रतिक्रिया दिन अस्वीकार गरेको पनि बीबीसीले जनाएको छ। 

जापानका क्याबिनेट सेक्रेटरी योशिमा हायसीले मङ्गलबार आफ्नो देशलाई आघात पर्ने र किसानहरू आन्दोलनमा निस्कने अवस्था निम्तिने सम्झौता वाशिङ्टनसँग नगर्ने बताएका थिए। हाल जापानले अमेरिका निर्यात गर्दा १० प्रतिशत लेभी, गाडी र पाटपुर्जामा २५ प्रतिशत निर्यात कर र स्टिल तथा आल्मुनियममा ५० प्रतिशत महशुल तिरिरहेको छ।

प्रतिक्रिया