काठमाडौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला ठूलो चर्चाको विषय बनेको चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयन सम्बन्धमा नेपाल र चीनबीच हस्ताक्षेर भएको छ । भ्रमणको अन्तिम समयमा आएर बिआरआईमा बुधबार बेइजिङमा हस्ताक्षर भएको हो । बीआरआई सहकार्य फ्रेमवर्क नाम दिइएको सो सम्झौतामा नेपालले प्रस्ताव गरेका १० वटा परियोजना परेका छन् । बेइजिङमा भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।
अन्तराष्ट्रिय विकास र साझेदार सम्बन्धी चीनको परियोजना बिआरआईमा अनुदान मात्र स्वीकार गर्ने नेपाली प्रस्ताबका कारण यस बारेमा सहमतिमा पुग्न ढीलाई भएको थियो । प्रधानमन्त्री ओली र चीनियाँ समकक्षि ली छियाङसंगको वार्ता पछि भएको नौ बुँदे सहमतिपत्र र दुइपक्षीय भेटवार्ता पछि जारी संयुक्त वक्तव्यमा समेत नपरेको बिआरआई सहमति लगतारको वार्ता प्रयासपछि अन्तिममा सहमतिमा पुगेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । सहमतिमा पुग्न दुबै देशका अधिकारीहरुले बीचको सहमतिको बाटो रोजेको बताइएको छ ।
सो सहमतिमा नेपालले प्रस्ताव गरेको विभिन्न १० वटा परियोजनाहरु परेका छन । ती परियोजनाहरुमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल रहेका छन् ।
यसैगरी जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन् ।
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदुतावाले बुधबार बेइजिङमा आयोजना गरेको रात्रीभोज समारोहमा ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए ।
उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा धेरै ठुलो संख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिए ।
उनले चीनका व्यावसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको बताउदै नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गरे ।
सो अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताए ।

तस्बीरहरुः दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया