०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

दलहरुको लोकप्रियता परिक्षणको रुपमा हेरिएको उपनिर्वाचनको तयारी पुरा

आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम भएका मतदाताहरुलाई निर्धक्का मतदान केन्द्रमा गई आफुले राजेका उम्मेद्धारालाई मतदान गर्न आग्रह गरेको छ ।
दलहरुको लोकप्रियता परिक्षणको रुपमा हेरिएको उपनिर्वाचनको तयारी पुरा

 

काठमाडौ । राजधानीको किर्तिपुर नगरपालिका मेयरसहीत देशभरका ४२ स्थानीय निकाय पदका लागि भोली हुन लागेको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम भएका मतदाताहरुलाई निर्धक्का मतदान केन्द्रमा गई आफुले राजेका उम्मेद्धारालाई मतदान गर्न आग्रह गरेको छ । 

मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने जनाइएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्‍कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।  

मतदाताको सहजताका लागि मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्नेगरी यातायात सञ्चालन गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको र मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध गरेको पनि आयोगको भनाई छ । 

मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिई सकिएको पनि आयोगले जनाएको छ । 

किर्तिपुर नगरपालिकाका मेयर तथा वडा नम्बर १ र ४ का वडाध्यक्ष, काठमाडौ महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष, जाजरकोट जिल्लाको नलगाढ नगरपालिकाका उपमेयर, विभिन्न गाउपालिकाका ३ अध्यक्ष र ३ उपाध्यक्ष विभिन्न वडाका ३१ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । स्थानीय निर्वाचन भएको झण्डै साँढे दूई वर्षपछि हुन लागेको यो उपनिर्वाचनलाई दलहरुले आफ्ना पार्टीको लोकप्रियताको मानकको रुपमा अथ्र्याउने गरेकाले यो उपनिर्वाचनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । 
राजधानीकै नगरपालिका भएकोले किर्तिपुर नगरपालिकाको उपनिर्वाचनलाई यतिबेला दलहरुले ठूलो महत्वकासाथ प्रचारप्रसार समेत गरेका छन् । यस नगरपालिकामा यसअघि काँग्रेस उम्मेद्धारले जितेकोमा यसपटक काँग्रेसले आफ्नो विरासत कायमै राख्ने प्रयत्न गरिरहेको छ भने यसअघि इलाम र बझाङमा भएको उपनिर्वाचनमा विजय हासिल गरेको नेकपा एमाले राजधानीमा पनि आफ्नो पकड कायमै रहेका् सन्देश दिन जीतको खोजीमा रहेको छ । सबै दलहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिएको किर्तिपुर नगरपालिकामा काँग्रेस र एमाले बाहेक एकिकृत माओवादी, नेकपा एस लगायतका दलहरुले पनि उम्मेद्धारी दिएका छन् भने स्वतन्त्र उम्मेद्धारहरुको पनि लस्करै लागेको छ । पहिलो पटक स्थानीय निकाय निर्वाचनमा सहभागी हुने निर्णय गरेको रास्वपाले भने किर्तिपुरमा आफ्नो उम्मेद्धार उठाएको छैन । 

प्रतिक्रिया