काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि २२ सम्म हुने विश्व जलवायु परिवर्तन सम्मेलन (कोप २९)मा सहभागी हुन आइतबार अजरबैजान प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघद्धारा आयोजित कोप २९ मा नेपाली टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रपति पौडेल बाकु प्रस्थान गरेका हुन् । सम्मेलनमा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलगायत पनि बाकु प्रस्थान गरेका छन् । यसपटकको जलवायु सम्मेलनमा नेपालले जलवायु परिवर्तनको असरबाट भोग्नुपरेको प्रकृतिक विपत्तिको क्षेतिपूर्ती पाउनुपर्ने सवाललाई गम्भीर रुपमा उठान गर्ने तयारी गरेको छ । केही वर्षयतादेखि नेपालले अन्तर्राष्ट्रिय मन्चहरुमा कार्बन उत्सर्जनमा कुनै भुमिका नरहेको नेपालले जलवायु परिवर्तनको असर भोग्न बाध्य भएको भन्दै विकसित देशहरुबाट क्षेतिपुर्तीबापतको रकम दिइनुपर्नेमा जोड दिदै आएको छ ।
यो सम्मेलनलाई विश्वभर बढ्दो जलवायु संकटसँग जुध्ने रणनीति र कार्यनीति बनाउनका लागि महत्वपूर्ण अवसरको रुपमा लिने गरिन्छ । यसपटकको सम्मेलनमा जलवायु परिवर्तनको असरलाई नियन्त्रणमा राख्न तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमामा कायम राख्न सबै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
सम्मेलनमा हरितगृह ग्याँस उत्सर्जन घटाउने, जलवायु परिवर्तनको प्रभावमा अनुकूलित हुने र प्राकृतिक प्रकोपबाट जुध्न विकासशील देशहरुलाई वित्तीय सहयोग उपलब्ध गराउनेबारे छलफल हुने छ । साथै सम्मेलनले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित समुदायलाई वित्तीय सहयोग उपलब्ध गराउन विशेष पहल गर्ने छव ।
त्यसैले कोप २९ लाई ‘फाइनान्स कोप’ अर्थात् वित्त सम्मेलन पनि भनिएको छ । जलवायु अनुकूलनका योजनामा लगानी गर्न र हानिनोक्सानी क्षतिपूर्ति कोष मार्फत् वित्तीय सहयोग जुटाउन सम्मेलनले पहल गर्ने छ । सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषयलाई सबैभन्दा प्राथमिक सूचीमा राखिएकाले पनि कोप २९ लाई ‘फाइनान्स कोप’ भनिएको हो ।
यो सम्मेलनमा १९८ देशका प्रतिनिधिहरु सहभागी हुँदैछन् । नेपालबाट राष्ट्रपति पौडेलको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी हुनेछ । राष्ट्रपति पौडेलले १२ नोभेम्बरमा सम्मेलनलाई सम्बोधन गर्ने छन् । साथै नोभेम्बर १३ मा नेपालको नेतृत्वमा छुट्टै उच्चस्तरीय छलफल गरी जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलका अनुसार कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुप दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने छ ।
प्रतिक्रिया