काठमाडौँ । सहकारीको रकम निजी कम्पनीमा ल्याएर हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले लामिछानेलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । पक्राउ अघि लामिछानेले अदालतको पक्राउ पुर्जीमा हस्ताक्षर गरेका थिए।
लामिछानेलाई पक्राउ गर्ने क्रममा रास्वपा पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको थियो । उनीहरुले सरकार विरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।
प्रहरीसमक्ष गिरफ्तारी दिदै रविले आफूले न्यायिक प्रक्रियालाई सघाउने बताए । लामिछानेले कुनै पनि अपराध नगरे तर राजनीतिक प्रतिसोध साध्न खोजिएको आरोप लगाएका थिए ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार नै पूर्जी जारी गरेको थियो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, उपाध्यक्ष छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगीमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । तस्बिर श्रोतः फेसबुकपेज









प्रतिक्रिया