२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

जर्जिया प्रहरी अधिकारी प्रदिप तामाङको गोलीबाट मृत्यु

जर्जिया प्रहरी अधिकारी प्रदिप तामाङको गोलीबाट मृत्यु

जर्जिया। ग्विनेट काउन्टी पुलिस डिपार्टमेन्टका प्रदीप तामाङ (२५) ड्युटीका क्रममा गोली लागेर मृत्यु भएको छ। सोही घटनामा अर्का अधिकारी डेभिड रिड गम्भीर घाइते भएका छन्। 

घटना होलिडे इन एक्सप्रेस होटलको एक कोठामा भएको हो। जर्जिया ब्युरो अफ इन्भेस्टिगेसन (जीबीआई) का अनुसार फेब्रुअरी १, २०२६ बिहान करिब ७:५५ बजे दुई जना अधिकारीहरू स्टोन माउन्टेनस्थित उक्त होटल (१७९० ई. पार्क प्लेस बुलेभार्ड) मा “क्रेडिट कार्ड थेफ्ट” सम्बन्धी उजुरी छानबिन गर्न पुगेका थिए। सोही दिनअघि साउथ क्यारोलाइनाबाट एक व्यक्तिले आफ्नो क्रेडिट कार्ड उक्त होटलमा “फ्रड” गरेर प्रयोग भएको भन्दै प्रहरीलाई खबर गरेको जीबीआईले जनाएको छ। 

जीबीआईका अनुसार अधिकारीहरूले होटलको फ्रन्ट डेस्क म्यानेजरसँग कुरा गरेपछि केभिन एन्ड्र्युज (३५) बसिरहेको कोठामा पुगेका थिए। त्यहाँ अधिकारीहरूले एन्ड्र्युजसँग क्रेडिट कार्ड “फ्रडुलन्ट युज”बारे सोधपुछ गरेका थिए। त्यस क्रममा डीक्याल्ब काउन्टीबाट “फेल्योर टु अपियर” सम्बन्धी पक्राउ पुर्जी (वारेन्ट) जारी भएको थाहा पाएपछि उनलाई पक्राउ गर्ने प्रयास गरिएको जीबीआईले बताएको छ। 

त्यसपछि एन्ड्र्युजले ह्यान्डगन निकालेर दुवै अधिकारीमाथि गोली चलाएको र दुवै जना घाइते भएको जीबीआईको प्रारम्भिक विवरण छ। एक जना अधिकारीले जवाफी फायर गरेका थिए। थप प्रहरी टोली घटनास्थलमा पुगेपछि तीनै जनालाई अस्पताल लगिएको थियो। 

जीबीआईले जारी गरेको अपडेटअनुसार एन्ड्र्युजमाथि “म्यालिस मर्डर”, “फेलोनी मर्डर”, “एग्राभेटेड असल्ट अपन अ पब्लिक सेफ्टी अफिसर” (२ वटा), र “पजेशन अफ अ फायरआर्म बाइ अ कनभिक्टेड फेलन” सहितका अभियोग दर्ता गरिएको छ। 

घटनापछि तामाङलाई अस्पताल पुर्‍याइए पनि मृत्यु भएको त्यहाँका प्रहरी प्रमुख जेडी म्याकक्लुरले बताएका छन्। रिडको अवस्था गम्भीर रहेकाले शल्यक्रिया गरिएको र उपचार जारी रहेको बताइएको छ। एन्ड्र्युज पनि गोली लागेर अस्पतालमै उपचाररत छन् र उनको अवस्था “स्टेबल” रहेको जीबीआईले जनाएको छ। 

तामाङ नेपालमा जन्मिएका र करिब १० वर्षअघि अमेरिका आएका थिए। प्रहरी नेतृत्वका अनुसार उनी पहिले पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गरेका गर्थे। विवाहको तयारीमा रहेका उनले मङ्गेतरलाई जर्जियामा ल्याउने व्यवस्था गरिरहेको जनाइएको छ। 

घटनाको अनुसन्धान जीबीआईले गरिरहेको छ। अनुसन्धान सकिएपछि फाइल ग्विनेट काउन्टी डिस्ट्रिक्ट अटर्नी’स अफिसमा समीक्षा र थप अभियोजन प्रक्रियाका लागि पठाइने जीबीआईको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

जर्जियाका गभर्नर ब्रायन केम्पले “एक्स”मार्फत समवेदना व्यक्त गरेका छन्। काउन्टी चेयरवुमन निकोल लभ हेन्ड्रिक्सनले पनि पीडित परिवार र विभागप्रति समवेदना जनाएकी छन्। 

फोटो स्रोत:  ग्विनेट काउन्टी पुलिस

प्रतिक्रिया