काठमाडौ । लामो विवाद र आन्तरिक उतारचढावकोवीच नेपाली कांग्रेसको विषेश महाधिवेशन आइतबारदेखि काठमाडौँ भृकुटीमण्डपमा सुरु भएको छ । सभापति देउवा पक्षले विशेष महाधिवेशनमा सहभागीताको लागि प्रतिनिधिहरुलाई रोक्ने प्रयासाका बाबजुत उद्घाटनको दिन सम्ममा कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएको आयोजकले जनाएका छन् । यो संख्या करिब ५६ प्रतिशत रहेको बताइएको छ । महाधिवेशनमा बहुमत प्रतिनिधि पहिलो दिनमै दर्ता भएपछि आयोजक पक्ष उत्साहित देखिएको छ ।
महाधिवेशन उद्घाटनअघि उपत्यकाको विभिन्न स्थानबाट झाँकीसहीतका र्याली निकालिएको थियो । र्याली भृकुटीमण्डप पुगेर उद्घाटनसभामा परिणत भएको थियो । भृकुटीमण्डपमा शुरु महाधिवेशनलाई महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गरे । गगनले पानसमा बत्ती बालेर र विश्वप्रकाशले रुखमा जल हालेर महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च निर्माण गरिएको छ । विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत सहभागी छन् । श्रेष्ठलाई महामन्त्री थापाले मञ्चमा स्वागत गरेका थिए ।
उद्घाटन समारोहमा पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत सहभागी छन् । पार्टीमा मध्यमार्गी भूमिका खेलेको २५ मध्ये २० केन्द्रीय सदस्य पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् । संस्थापन समूहका डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, उदय शमशेर राणा, देवेन्द्रराज कँडेल लगायत २० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएका छन् । महाधिवेशन उद्घाटन समारोहमा बोल्ने नेताहरुले नेपाली काँग्रेस अब नयाँ परिस्थिति अनुसार परिमार्जित भएर अघि बढ्ने उद्घोष गरेका छन् ।
महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्द सत्र सुरु हुने जनाइको छ । विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यले भव्य र उत्साहपूर्ण रूपमा उद्घाटन सत्र समापन भएको बताउँदै भोलि बिहान ८ बजेदेखि बन्द सत्रको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । विशेष महाधिवेशनको बन्द सत्र ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने आचार्यको भनाइ छ । बन्द सत्रको प्रारम्भमा महाधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरी पारित गरिनेछ । यो महाधिवेशन प्रतिनिधिहरू आफैँले आयोजना गरेको विशिष्ट प्रकृतिको कार्यक्रम भएकाले सुरुमा आफ्नै कार्यविधि बनाएर अघि बढ्न लागिएको संयोजक आचार्यले बताए ।
कार्यविधि पारित भएपछि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई ९ वटा विभिन्न समूहमा विभाजन गरेर समूहगत छलफल चलाइने कार्यतालिका रहेको छ । जसमा सात प्रदेशका सात समूह, काठमाडौं उपत्यकाको एउटा समूह र जनसम्पर्क समिति तथा भातृ एवं शुभेच्छुक संस्थाहरूको एक गरी जम्मा ९ वटा समूह रहनेछन् । ती समूहहरूमा पार्टीको नीति, वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचनको तयारीका विषयमा गम्भीर बहस हुनेछ ।
विशेषगरी आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको सन्दर्भमा कांग्रेसले मतदातामाझ कस्तो प्रतिबद्धता र एजेन्डा लिएर जाने भन्ने विषयमा बन्द सत्र केन्द्रित हुनेछ । संयोजक आचार्यका अनुसार पार्टीभित्रको आत्मआलोचनासहितको प्रतिबद्धता, विधान संशोधन र परिवर्तन र आवश्यकता अनुसार नेतृत्वको सवालमा समेत बन्द सत्रमा छलफल हुनेछ ।
आचार्यले पार्टी सभापति र केन्द्रीय कार्यसमितिका नेताहरूलाई बन्द सत्रमा सहभागी भएर महाधिवेशनको अपनत्व र स्वामित्व ग्रहण गर्न आग्रह गरे। उनले पार्टी नेतृत्वको उपस्थिति भएमा यसले एकताको सन्देश दिने उल्लेख गर्दै ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थिति भइसकेकाले हलले गर्ने निर्णय नै पार्टीका लागि सर्वमान्य हुने दाबी गरे ।
बन्द सत्रमा विभिन्न उपसमितिहरूले तयार पारेका नीतिगत प्रस्ताव र एजेन्डाहरूमाथि छलफल हुनेछ । कार्यक्रममा पूर्व महामन्त्री तारानाथ रानाभाट लगायतका वरिष्ठ नेताहरूले समेत सम्बोधन गर्ने र पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने मार्गचित्र तय गरिने आयोजक समितिले जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले यो महाधिवेशनलाई वैधानिकता दिन अस्वीकार गरिरहेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अनुवाइमा विशेष महाधिवेशन भएको हो ।





प्रतिक्रिया