०५ चैत २०८२, बिहिबार
Thu, Mar 19, 2026
SUBSCRIPTION

आइसले गोली हान्यो, ३७ वर्षीया महिलाले ज्यान गुमाइन

आइसले गोली हान्यो, ३७ वर्षीया महिलाले ज्यान गुमाइन

मिनियापोलिस। इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को अपरेसन चलिरहेका बेला संघीय आप्रवासन अधिकारीको गोली प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ। गोली लागेर ३७ वर्षीया रिने निकोल गुडको मृत्यु भएको हो। 

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले “प्रतिरक्षा” मा गोली चलाएको दाबी गरेको छ। मिनियापोलिसका मेयर जेकब फ्रे र मिनेसोटा का गभर्नर टिम वाल्जले डीएचएसको दावी सार्वजनिक अस्वीकार गरेको समाचार संस्था रोयटर्स्ले उल्लेख गरेको छ। 

घटना मिनियापोलिसको इस्ट ३४ स्ट्रिट र पोर्टल्यान्ड एभेन्यू नजिक बिहान करिब ९:३० बजे स्थानीय र संघीय निकायहरूले पुष्टि गरेका छन्। डीएचएसको दावी अनुसार गुडले कारलाई “हथियार” बनाउँदै ठक्कर दिने प्रयास गरेपछि आफूलाई बचाउन अधिकारीहरूले गोली चलाउनु परेको हो। तर मेयर फ्रे ले आफूले भिडियो हेरेपछि संघीय पक्षको कथन “गार्बेज” भएको बताएका छन्। उनले आइसलाई “मिनियापोलिस बाहिर जान” भनेका छन्। 

स्थानीय रिपोर्ट र प्रारम्भिक प्रहरी विवरण अनुसार आइस अधिकारीहरू कार नजिक पुगेका बेला कार अघि बढ्न थालेको देखिन्छ। सोही क्रममा गोली चलेको भिडियो बाहिरिएको छ। संघीय पक्षले “आक्रमण प्रयास” भएको जोड दिए पनि मिनियापोलिस नेतृत्वले “भाग्न खोजेको दृश्य” देखिने भन्दै डीएचएसको व्याख्या गलत भएको दाबी गरेको छ।

घटनापछि ठूलो भीड जम्मा भएको र प्रदर्शन चर्किएको थियो। रिपोर्टहरूका अनुसार केही संघीय सुरक्षा अधिकारीहरूले “केमिकल इरिट्यान्ट्स” प्रयोग गरेका थिए, जसले तनाव थप बढाएको रोयटर्सले जनाएको छ। गभर्नर वाल्जले जनतालाई शान्त रहन अपिल गरेका छन। उनले अवस्था बिग्रिन सक्ने अनुमान सहित नेशनल गार्ड तयारी अवस्थामा राखेका छन्।

घटनाको अनुसन्धान फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र मिनेसोटा को ब्युरो अफ क्रिमिनल एप्रेहेन्सन (बीसीए) लगायतका निकायले गरिरहेको वाशिङ्टन पोस्टले जनाएको छ। गोलीकाण्ड मिनियापोलिस–सेन्ट पॉल क्षेत्रमा चलिरहेको “इमिग्रेशन क्र्याकडाउन” कै बीचमा भएको हो। रिपोर्टहरूका अनुसार डीएचएस ले करिब २ हजार संघीय एजेन्ट/सुरक्षा अधिकारीरहरू मिनेसोटा तर्फ तैनाथ गरेको छ। यो अपरेसनको एउटा पाटो विशेष गरी सोमाली समुदायसँग जोडिएका फ्रड सम्बन्धी अनुसन्धानसँग जोडिएको बताइएको छ। 

गुडको कारले आइस अधिकारीलाई वास्तवमै ठक्कर दिएको वा दिने प्रयास गरेको थियो कि थिएन, गोली चल्नु अगाडिका आदेश–चेतावनी र दूरी के थियो, र भिडियोका सबै कोण/पूरा फुटेजले के देखाउँछ भन्ने अनुसन्धानपछि मात्र आधिकारिक रूपमा पुष्टि हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया