न्यू योर्क। अमेरिकी क्याथोलिक बिशपहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्धाधुन्ध सामूहिक निर्वासन नीतिविरुद्ध दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्। उनीहरूले ट्रम्प प्रशासनको कडा अप्रवासन अभियानलाई मानवीय मर्यादामाथिको आक्रमण भनेका छन्।
बाल्टिमोरमा बसेको युनाइटेड स्टेट्स कन्फरेन्स अफ क्याथोलिक बिशप्स (यूएससीसीबी) को बैठकले अप्रवासनबारे विशेष “पास्टरल सन्देश” पारित गरेको हो। करिब १२ वर्षपछि उनीहरूले यसरी सबै मिलेर औपचारिक राजनीतिक टिप्पणी गरेका हुन्। प्रस्तावमा २१६ बिशपले समर्थन, ५ ले विरोध र ३ ले तटस्थता जनाए।
वक्तव्यमा बिशपहरूले लेखेका छन्– “हामी अन्धाधुन्ध सामूहिक निर्वासनको विरोध गर्छौँ।” उनीहरूले आप्रवासनसँग सम्बन्धित कटु भाषा, घृणा र हिंसा रोक्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, कडा कारबाही र डराएको माहोलले आप्रवासी समुदायहरूलाई सामान्य जीवन बाँच्न पनि कठिन बनाएको छ।
यो सन्देशमा ट्रम्पको नाम सीधै नलिइए पनि, ठूलो संख्यामा छापा मारेर समात्ने, देशभित्रै आक्रामक कारबाही गर्ने, हिरासत र निर्वासन विस्तार गर्ने जस्ता नीतिमाथि प्रहार गरिएको छ। बिशपहरूले भनेका छन्, यस्ता कदमले आप्रवासी बस्तीहरूमा “त्रासको वातावरण” पैदा गरेको छ। सन्देशमा धेरै अभिभावकहरू बच्चालाई स्कूल, अस्पताल वा चर्चसम्म लैजानसमेत डराउने अवस्थाको वर्णन गरिएको छ।
वक्तव्यमा बिशपहरूले यस्ता चिन्ताहरू उठाएका छन्ः
- केही नहेरी गरिने अन्धाधुन्ध सामूहिक निर्वासन
- भीडभाड, अमानवीय र अस्वस्थ हिरासत केन्द्रहरू
- रेसियल प्रोफाइलिङ र आप्रवासीलाई अपराधी देखाउने भाषा
- चर्च, स्कूल र अस्पतालजस्ता स्थानलाई समेत ‘डर-क्षेत्र’ बनाउने प्रवृत्ति
बिशपहरू राष्ट्रसँग आफ्नो सीमा नियन्त्रण गर्ने अधिकार भएको विश्वास गर्छन्। तर उनीहरू भन्छन्, “कुनै पनि नीति मानिसको बाँच्न पाउने अधिकार र आधारभूत मानवीय मर्यादाविरुद्ध हुन मिल्दैन।” कानुन लागू गर्दा पनि “समस्याग्रस्त समूह” होइन, “मानव” भनेर बुझ्नुपर्छ भन्ने उनीहरूको आग्रह छ।
यससँगै, यूएससीसीबीले आप्रवासीहरूको लागि नयाँ “पास्टरल” अभियान सुरु गर्ने तयारी गरेको छ। यसअन्तर्गत आपतकालीन आर्थिक सहयोग, कानुनी सल्लाह, आध्यात्मिक साथ–समर्थन र “यु आर नट एलोन” (तपाईं एक्ला हुनुहुन्न) जस्ता सन्देशमार्फत आप्रवासी परिवारसँग ऐक्यवद्धता देखाइनेछ।
यो कदमलाई हालै पोप फ्रान्सिस ले गरेको कडा टिप्पणीसँग पनि जोडेर हेरिएको छ। पोपले अमेरिकामा लागू गरिएका कडा निर्वासन नीतिबारे चिन्ता व्यक्त गर्दै, अमेरिकी बिशपहरूलाई आप्रवासी र शरणार्थीको पक्षमा खुला र निडर भएर बोल्न भनेका थिए।
व्हाइट हाउसले भने ट्रम्प प्रशासनको बचाउ गर्दै, आप्रवासन कानुन कडाइका साथ लागू गर्नु, अपराधी हटाउनु र सीमा सुरक्षा मजबुत पार्नु नै आफ्नो जिम्मेवारी भएको दाबी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले आलोचकहरूलाई “अपराधका पीडितको पीडा बेवास्ता गरेको” आरोप पनि लगाएका छन्।
बिशपहरूले भने आफ्नो कदमलाई कुनै राजनीतिक दलको पक्ष वा विपक्ष नभएर, विश्वास र नैतिक जिम्मेवारीको रूपमा व्याख्या गरेका छन्। उनीहरूले देशभरका क्याथोलिक र शुभेच्छुहरूलाई आप्रवासन नीतिलाई “गोस्पेलको आँखाले” जाँच्न र अन्धाधुन्ध निर्वासनको डरमा बाँचिरहेका परिवारसँग मानवीय सम्बन्धका साथ उभिन आह्वान गरेका छन्।




प्रतिक्रिया