नेपाली अमेरिकन समुदायको सरोकारका विषयवस्तुहरु संप्रेषण गर्दै समुदायमा सञ्चार सशक्तिकरण गर्ने उद्देश्यले शुभारम्भ भएको एनवाइसी नेपाल कम्युनिटी मिडिया अभियानले पहिलो वर्ष पार गरेको छ । यस अभियान अन्तर्गत हाल एनवाइसीनेपालन्यूज डटकम र एनवाइसी नेपाल युट्युब च्यानल सञ्चालनमा छन् । कम्युनिटी मिडिया अभियान सुरु भएको एक वर्षमा नै सम्पूर्ण नेपाली अमेरिकन समुदाय र विश्वभरका नेपाली पाठक, दर्शक तथा शुभेच्छुकहरुको अपार माया, साथ र सद्भाव पाउन सफल भएकोमा यस अभियानका संस्थापक टिम हर्ष विभोर भएको छ । यो माया, साथ र सद्भावको लागि हार्दिक आभार प्रकट गर्दछु साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछु । अभियानको पहिलो वार्षिकोत्सवको अवसरमा हामीलाई अघि बढ्न सल्लाह, सुझाब, हौसलाका साथै गल्ती कमजोरीहरु औल्याई दिने नेपाली समाजका प्रतिष्ठित व्यक्तित्वहरु, सचेत पाठक वर्ग, साथीभाई तथा हितैषीहरुमा मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु ।
एनवाइसी नेपाल कम्युनिटी मिडिया अभियानको पहिलो वार्षिकोत्सवको यो समय उत्सवमय क्षण भए पनि हाम्रो मात्रृभूमि नेपालमा जेन जी आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिका कारण कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने हाम्रोे निर्णय छ । सुशासन र सम्वृद्धिको आकाँक्षासहित भएको जेनजी विद्रोहका क्रममा अमुल्य जीवन समर्पण गर्ने सम्पूर्ण वीर योद्धाहरुप्रति यही आलेखमार्फत हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुकासाथै सबै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनका क्रममा भएको हुलदंगाको कुत्सित फाइदा उठाउदै केही स्वार्थ तत्वहरुले राष्ट्रिय धरोहरहरु र निजी सम्पत्तिमाथि आक्रमण, आगजनी तथा ध्वस्त पार्ने जुन अक्षम्य अपराध गरेका छन्, त्यसप्रति खेद व्यक्त गर्दै ती देशद्रोहीहरु उपर कडा कानूनी कारबाही गर्न समेत माग गर्दछु । देश र जनताको पक्षमा नेपालका युवाहरुबाट गरेको बलिदानीपूर्ण संघर्षले नेपाली समाजमा गडेको भ्रष्टचार, बेथिति, लुटतन्त्र, दलीयतन्त्र, पुरुष वर्चश्व, एकल नश्लिय राज्य नेतृत्व जस्ता परम्परागत साङलो तोड्दै सबै क्षेत्रमा नयाँ नेपाल निर्माणको शंखघोष गरेको छ । यो विद्रोहको उपलब्धिको रुपमा रहेको परिवर्तनको आकाँक्षालाई आत्मसात गरेर राष्ट्रप्रेमको भावसहित आधुनिक, आत्मनिर्भर र सुशासनयुक्त नयाँ नेपाल निर्माणको बाटोमा सबैले एकजुट भएर हिड्न सकेमा संवृद्ध नेपालको गन्तव्य टाढा र असम्भव छैन । जसका लागि विश्वभरका नेपाली समुदायलाई एकताबद्ध हुन समेत आग्रह गर्दछु ।
यो अभियान कुनै पनि व्यापारी वर्गको लगानीमा, व्यवसायीहरुको विज्ञापन वा निश्चित दाता समूहको आर्थिक श्रोतबाट सञ्चालित भएको संचार माध्यम हैन । लामो समयको पत्रकारिताको अभ्यासबाट हासिल गरेको सीपलाई उपयोग गरी समुदायलाई संचार सशक्तिकरण गर्नु नै यो अभियानको एक मात्र अभिष्ट हो ।
एनवाइसी नेपाल कम्युनिटी मिडिया अभियान व्यवसायिक पत्रकारिताको क्षेत्रमा झण्डै २ दशक लामो समय सक्रिय रहेर हाल अमेरिकामा बसोबास गर्दै आएका पत्रकारहरुको समूहले थालनी गरेको नितान्त स्वयंसेवी सामुदायिक पत्रकारिता अभियान हो । यसको मतलब यो अभियान कुनै पनि व्यापारी वर्गको लगानीमा, व्यवसायीहरुको विज्ञापन वा निश्चित दाता समूहको आर्थिक श्रोतबाट सञ्चालित भएको संचार माध्यम हैन । लामो समयको पत्रकारिताको अभ्यासबाट हासिल गरेको सीपलाई उपयोग गरी समुदायलाई संचार सशक्तिकरण गर्नु नै यो अभियानको एक मात्र अभिष्ट हो । यस क्रममा हामी, अमेरिकी भुमिमा बसोबास गर्ने नेपाली समुदायलाई अमेरिकी समाज, अमेरिकी राज्य संयन्त्र, स्थानीय, राज्य तथा संघीय सरकारका नीति नियम, भाषिक तथा पहुँचको अभावका कारण भोग्न बाध्य समस्याहरु, सरकारले प्रदान गर्ने सुविधा सहुलियतमा पहुँच स्थापना जस्ता विषयबस्तुलाई प्राथमिकतामा राखेर प्रकाशन प्रशारण गर्दै आएकाछौं । साथै नेपाली समुदायको औपचारिक गतिविधिहरु, समुदायका अन्य सरोकारका विषयहरु र मातृभूमि नेपालमा भएका आम सरोकारका विषयहरुबारे पनि नेपाली समुदायलाई सुसूचित गर्ने हाम्रो उदेश्य हो । व्यस्त अमेरिकी दैनिकीकावीच स्वयंसेवी रुपमा यी उद्देश्य पूरा गर्नका लागि मिडिया सञ्चालन गर्नु सहज कुरा त पक्कै हैन तर यसलाई सहज र सफल बनाउने हाम्रो प्रण छ । यो अभियानको संस्थापक समूहको स्वयंसेवी प्रयासमा शुरुवात भएको अभियानलाई अघि बढाउन र निरन्तरता दिन आगमी दिनमा स्वयंसेवी मन भएका सयौं नेपाली मनहरु जोडिनेछन् भन्ने हाम्रो विश्वास हो ।
प्रकाशन शुरु भएको एक वर्षे दौरानमा सामुदायिक सञ्चारका विभिन्न आयामहरुबारे जान्ने र सिक्ने मौका मिलेको छ । समुदायमाझ घुलमिल हुने अवसर प्राप्त भएको छ । यसै गरी राज्य तथा स्थानीय जन निर्वाचित प्रतिनिधिहरुसँग साक्षात्कार र अन्तरक्रिया गर्ने मेसो मिलेको छ । यी अवसरहरुबाट हासिल भएका अनुभव र नेटवर्किङबाट हाम्रो अभियानको आगामी यात्रामा निश्चय पनि थप सहजता हासिल हुने विश्वास लिएको छु । जान—अन्जानमा केही कमी कम्जोरीहरु पनि भएको हुन सक्छ । ती कम्जोरीबाट पनि सिक्ने मौका पाएका छौं । यस वीचमा हाम्रो अनुभवले प्रमाणित गरेको तथ्य के हो भने समुदायको लागि यस प्रकारको सञ्चार अभियान सहुदायको सशक्तिकरणका लागि अत्यन्त जरुरी छ । समुदायको सञ्चार सशक्तिकरणको आवश्यकतालाई पूरा गर्नको लागि अतिरिक्त समयको पत्रकारिता मात्र नभई पूर्णकालिन सक्रियतासहितको पत्रकारिता आवश्यक छ । यो आवश्यकतालाई पूरा गर्न समुदायसँगको सहकार्यमा आगामी दिनमा सम्भावनाको खाजी गर्ने नै छौं ।
प्रकाशन शुरु भएको एक वर्षे दौरानमा सामुदायिक सञ्चारका विभिन्न आयामहरुबारे जान्ने र सिक्ने मौका मिलेको छ । समुदायमाझ घुलमिल हुने अवसर प्राप्त भएको छ । यसै गरी राज्य तथा स्थानीय जन निर्वाचित प्रतिनिधिहरुसँग साक्षात्कार र अन्तरक्रिया गर्ने मेसो मिलेको छ । यी अवसरहरुबाट हासिल भएका अनुभव र नेटवर्किङबाट हाम्रो अभियानको आगामी यात्रामा निश्चय पनि थप सहजता हासिल हुने विश्वास लिएको छु ।
प्रविधिको विकास र सहज पहुँचका कारण अहिले हरेक व्यक्ति पल पल नयाँ सूचनाबाट सूचित भइरहेका छन् । नागरिकलाई सूचनाको सशक्तिकरणको कुरा गर्दा नागरिकले प्राप्त गर्ने यस्ता सूचनाहरु सुचित गर्ने किसिमको छन् वा भ्रमित गर्ने खालका छन् भन्ने पक्ष धेरै महत्वपूर्ण हुन्छ । प्रविधिको दुनियाँमा सूचना बिक्री गरेर पनि धेरैले व्यवसाय सञ्चालन गरिरहेका छन् । समाजमा यस्ता व्यवसायिक सूचना बिक्रेताहरुबाट नाफाको उद्देश्यबाट मात्र बिक्री गर्ने सूचनाहरुबाट सही र तथ्यगत सूचना भन्दा पनि भ्रमपूर्ण र अफवाह फैलाउने सूचनाको खतरा दिन प्रति दिन बढ्दो छ । त्यस्ता खतरालाई चिर्नका लागि पनि सामुदायिक सूचना अभियानहरु अपरिहार्य बनेको छ । सही र तथ्यगत सूचनाले मानिसलाई सुसूचित मात्र गर्दैन समाजलाई समेत सही बाटोमा डोर्याउन मद्दत मिल्छ ।
सूचना प्रविधिमा आएको अविश्वासनीय विकासका कारण अस्तित्वमा आएका असंख्य डिजिटल पत्रिका र सामाजिक सञ्जालका कारण सूचनाका उपभोक्ताहरु कतिपय अवस्थामा सही र गलत सूचना छुट्ट्याउन अन्योल भएको अवस्था पनि छ । हामी पत्रकारिताको लामो अभ्यासबाट आर्जन गरेको सीप र दक्षताको उपयोग गर्दै सही र तथ्य सूचना प्रवाह गरी समुदायको सशक्तिकरण गर्न सधैं प्रयासरत रहनेछौं । पत्रकारिताको आधारभूत मुल्य मान्यतामा रही स्वतन्त्र र सन्तुलित सामग्री तथा तथ्यमा टेकेर सत्य स्थापित गर्ने हाम्रो सदैव जोड् रहने कुरा आज पनि हामी दोहोर्याउन चाहान्छौं । गोपनियताको हक, कानूनी सीमा तथा पत्रकारिताको अधिकार क्षेत्रलाई विषेश ध्यानमा राखेर यो अनलाइन पत्रिकाको विश्वसनीयता वृद्धिमा हामी सदैब लागिरहने छौं। भविष्यमा रेडियो लगायतका अन्य विधाका सञ्चारमाध्यम समेत सञ्चालन गर्ने उद्देश्य रहेकोले यस अभियानलाई सफल बनाउन नेपाली समुदाय, संघ संस्था, नागरिक अगुवा एवं सम्पूर्ण सचेत नेपालीहरुमा साथ सहयोग तथा हातेमालोको लागि हामी अनुरोध समेत गर्दछौं ।
एनवाइसी नेपाल कम्युनिटि मिडिया नेटवर्क इंक





प्रतिक्रिया