२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा

काठमाडौं । राज्यका तीनै अंग व्यवस्थापिका संसद, कार्यपालि र न्यायपालिका आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् ।

तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको बताएका छन। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् ।

संसद, सिंहदरबार र सर्वोच्चमा तोडफोड–आगजनी; ठूला नेताका घरहरूमा आगो, र कांग्रेस सभापति शेरबहादुर देउवा अर्थमन्त्री पौडेल कुटपिट; प्रधानमन्त्री ओलीले राजीनामा दिए

 सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भड्किएको आन्दोलन काठमाडौंमा हिंसक बन्न पुगेपछि संसद नयाँ बानेश्वर, सिंहदरबार वरपर र सर्वोच्च अदालत परिसरमा आन्दोलनकारीले ढोका–बार तोडेका छन् र आगजनी भएको छ। संसद भवनमा आगो लागेको भिडियो सार्वजनिक भएका छन्, सर्वोच्च अदालत परिसरमा समेत आगो लगाइएको पुष्टि भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवा कुटपिटमा परेका  छन्। घटनामा पौडेललाई भीडले घेराबन्दी गर्दै पछ्याएको देखिने भिडियो सार्वजनिक भएको छ।

कस–कसको घर जल्यो?
एजेन्सी रिपोर्टअनुसार आन्दोलनकारीले ठूला नेताका निजी आवासतर्फ आक्रमण/आगजनी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखका र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरतर्फ आगजनी भएको उल्लेख छ। विदेशी मिडियाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी आवास र सूचना–प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा समेत आगो लगाइएको/आक्रमण भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिए
राजनीतिक संकट चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सेप्टेम्बर ९, २०२५) पदबाट राजीनामा दिएका छन्। एपी, अलजजिरा र रोयटर्सले ओलीको राजीनामा पुष्टि गरेका छन्। 

प्रतिक्रिया