न्यू योर्क। इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले जर्जियास्थित हुन्डाईको 'मेटाप्लान्ट' मा छापा मारी चार सय ७५ जना नियन्त्रणमा लिएको छ। पक्राउ परेका मध्ये धेरैजसो कोरियाली नागरिक छन्।
ती मानिसहरू निर्माण साइटका कन्ट्याक्टर र सब-कन्ट्याक्टररमार्फत काम गरिरहेका थिए। अमेरिकी अधिकारीहरूले महिनौँको छानबिनपछि छापा मारिएको जनाएका छन्। यो एकै स्थानमा गरिएको सबैभन्दा ठुलो छापा मध्ये एक हो।
यो प्लान्ट कम्प्लेक्सभित्र एलजी इनर्जी सोलुसन्स (एलजीईएस) सँगको साझेदारीमा बन्ने इलेक्ट्रोनिक भेहिकल (ईभी) ब्याट्री प्लान्ट पनि छ। एलजीले आफ्ना ४७ कर्मचारी आईसको नियन्त्रण रहेको जनाएको छ। कम्पनीले तत्कालका लागि अमेरिका यात्रा र स्टाफिङमा अस्थायी प्रतिबन्ध समेत लगाएको छ। आईसले छापा मारी ठूलो सङ्ख्यामा गिरफ्तारी गरेपछि उक्त मेटाप्लान्ट रहेको कम्प्लेक्सको केही भागमा निर्माणको काम रोकिएको छ। तर, हुन्डाईले आफ्नो प्रत्यक्ष रोजगारीमा रहेको कर्मचारी पक्राउ परेको जानकारी नरहेको भन्दै अडिट सुरु गरेको जनाएको छ।
सङ्घीय सुरक्षा अधिकारीहरू वारेन्ट लिएर साइट भित्र प्रवेश गरेका थिए। त्यहाँका कामदारलाई राष्ट्रियता र भिसा क्याटेगोरीका आधारमा छुट्याइएको थियो। र बसमा राखी लगिएको थियो। केहीले भाग्न खोजेको समाचार पनि छ। समातिएका सबै मानिसहरूलाई आप्रवासन कानुनअनुसार कारवाहीको प्रक्रिया अघि बढाइने बताइएको छ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्ना नागरिकको सहयोगका लागि टास्क फोर्स बनाएका छन्। आवश्यक परे वरिष्ठ कूटनीतिज्ञलाई वाशिङ्टन पठाउने सिओलको तयारी गरेको छ। सिओलले छापको भिडियो सार्वजनिक गरेको भन्दै आपत्ति समेत जनाएको छ। अमेरिकामा ठूला कोरियाली लगानी भइरहेका बेला यो घटना भएका कारण दुवै देशबीचको आर्थिक र कूटनीतिक सम्बन्धमा तनाव थपिएको छ।





प्रतिक्रिया