न्यूयोर्क। परिवार र समर्थकहरूले सिभिलियन कम्प्लेन्ट रिभ्यू बोर्ड (सीसीआरबी) समक्ष विन रोजारियोलाई गोली हान्ने प्रहरी अधिकारीद्वय साल्भाटोर अलोङ्गी र म्याथ्यु सियानफ्रोको बर्खास्तीको माग गरेका छन्। सीसीआरबीको बुधबार बसेको पछिल्लो सार्वजनिक बैठकमा उनीहरूले यस्तो माग गरेका हुन्।
गोली प्रहारबाट मानसिक स्वास्थमा संकट भएका ओजोन पार्कका १९ वर्षीय विन रोजारियोको मृत्यु भएको थियो। त्यसयता उनको परिवार र समर्थकहरूले ती प्रहरी अधिकारीहरूलाई बर्खास्ती र कानूनी कारवाहीका लागि संघर्ष गर्दै आएका छन्। बुधबार भएको सीसीआरबीको बैठकमा रोजारियोका परिवार र समर्थकहरूले सीसीआरबीको सभा हल कोचाकोच भएको थियो। अत्यधिक भीड व्यवस्थापन गर्न सीसीआरबीले ओभरफ्लो कोठासमेत खोल्नुपरेको थियो।
बैठकमा देसिज राइजिङ अप एन्ड मुुभिङ (ड्रम), जस्टिस कमिटी, दक्षिण एसियाली र इन्डो–क्यारिबियन समुदायका समर्थकहरू, साथै न्यू योर्क प्रहरी (एनवाईपीडी) को गोलीबाट आफन्त गुमाएका सिन बेलकी आमा भ्यालेरी बेल, मोहम्मद बाहकी आमा हावा बाह र एलन फेलिजका दाजु सामी फेलिज लगायतका परिवारका सदस्यहरू उपस्थित रहेको ड्रमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार विनकी आमा नोटन इभा कोस्टा, बुबा फ्रान्सिस रोजारियो र भाइ उत्सो रोजारियोले बोर्डलाई सम्बोधन गर्दै प्रहरीले घटनास्थल प्रवेश गरेको दुई मिनेटभित्र अनावश्यक रूपमा स्थिति चर्काएको र विनलाई पाँच राउण्डभन्दा बढी गोली हानेको बताएका थिए। परिवारले घटनापछि उनीहरूलाई कानुनी सल्लाह बिना छुट्टाछुट्टै सोधपुछका लागि प्रिसिन्ट लगिएको, एम्बुलेन्समा साथ जान नदिएको र दुई दिनभन्दा बढी घर छिर्न नदिई औषधि तथा सामान लिनसमेत रोकिएको कुरा दोहोर्याएका थिए।
परिवार र अधिकारकर्मीहरूले अलोङ्गी र सियानफ्रोको मात्र होइन, घटनापछि भएको परिवारमाथिको दुर्व्यवहारमा संलग्न अझै पहिचान नभएका प्रहरी अधिकारीलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे। उनीहरूले मानसिक स्वास्थ्य सङ्कटमा रहेका मानिसहरूको सवालमा प्रहरी संलग्नता हटाउनुपर्ने माग पनि दोहोर्याए।
विन रोजारियोको मार्च २७, २०२४ मा ओजोन पार्क, क्विन्सस्थित आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या भएको थियो। प्रहरीले संलग्न अधिकारीका नाम एक महिनाभन्दा बढी गोप्य राखेको थियो। उनीहरूको नाम स्टेट अटर्नी जनरलको कार्यालयले मे ३, २०२४ मा बडी–क्याम फुटेज सार्वजनिक गर्दा मात्र खुलेको थियो। परिवारका अनुसार मेयर एरिक आडम्सले भिडियो सार्वजनिक भएपछि मात्र प्रतिक्रिया दिएका थिए।
रोजारियो परिवार, ड्रम र जस्टिस कमिटीले अलोङ्गी र सियानफ्रोकोलाई बर्खास्त गरी हत्या अभियोगमा मुद्धा अगाडि बढाउन माग गर्दै आएका छन्। रोजारियो परिवारले जुन २०२५ मा प्रहरी र न्यू योर्क सिटीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही महिनाको अन्त्यतिर मेयर आडम्स र कमिस्नर जेसिका टिस्चलाई अनुसन्धानको प्रगति र भेटको आग्रहसहित पत्र पठाए पनि रोजारियो परिवारले अहिलेसम्म जवाफ नपाएको जनाएको छ।
मानसिक स्वास्थमा संकट भएका विन रोजारियो आफैँले फोन गरि प्रहरी बोलाएका थिए। सहयोगका लागि आएका प्रहरी अधिकारीद्वय साल्भाटोर र सियानफ्रोको विनको निवास पुगेका थिए। उनीहरु मध्ये कसले विनलाई गोली हानेको भन्ने बडि क्याम फुटेजबाट खुल्दैन। घटनाको अनुसन्धान सीसीआरबी, प्रहरी र न्यू योर्क स्टेट अटर्नी जनरलको कार्यालयले गरिरहेको छ।
फोटोः देसिज राईजिङ अप एण्ड मुभिङ (ड्रम)





प्रतिक्रिया