न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्प जारी गरेको जन्मका आधारमा नागरिकता दिनबाट रोक्ने एक्ज्याकेटिभ अर्डर असंवैधानिक भएको भन्दै अदालतले कार्यान्वयनमा रोक लगाएको छ।
सियाटलको फेडेरल कोर्टले जनवरी २३ मा उक्त एक्ज्याकेटिभ अर्डर असंवैधानिक भएको ठहर गर्दै कार्यान्वयनमा अस्थायी रुपमा रोक लगाएको हो। सियाटलका डिस्ट्रिक्ट न्यायाधीश जोन कुनावरले उक्त एक्ज्याकेटिभ अर्डर कार्यान्वयनमा १४ दिनका लागि रोक लगाएका छन्। उक्त एक्ज्याकेटिभ अर्डर संविधानको १४ औं संशोधन विपरित भएको भन्दै मुद्दा परेको थियो। अमेरिकी संविधानले अमेरिकामा जन्मेका सबै बालबालिकालाई जन्मसिद्ध नागरिकताको अधिकार दिन्छ।
राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेकै दिन बाबु अमेरिकी नागरिक नभएको अवस्थामा विदेशी महिलाबाट अमेरिकी भूमिमा जन्मेका बालबालिकालाई जन्मका आधारमा नागरिकता नदिन एक्ज्याकेटिभ अर्डर जारी गरेका थिए। त्यसविरुद्ध विभिन्न सङ्घसंस्थाले विभिन्न राज्यमा मुद्दा हालेका छन्।





प्रतिक्रिया